चैत १ काठमाडौं।
टेम्केमैयुङ गाउँपालिकामा रहेको मलुवा पोखरी आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ।
टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको हो।
समुद्री सतह बाट करिब २ हजार ५०० मिटर उचाइमा रहेको मलुवा पोखरी घाँसेमैदानको बीचमा अवस्थित रहेको छ।
सरकारले घोषणा गरेको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने मलुवा पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटक माझ लोकप्रिय बन्दै गएको जनाएको छ।
वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले मलुवा पोखरी पर्यटकलाई लोभ्याउने गरेको छ।
बाह्रै महिना पानीले भरिएको पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गरेको छ।
मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ।
पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ। वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताएका छन्।
पर्यटन प्रवद्र्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छन्।