असार २२ काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली र मेलेसियाका व्यवसायी बीच भेट भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरका विषयमा मलेसियाको बिजनेस काउन्सिलको प्रतिनिधिमण्डल सँग भेट गरेको छ।
नेपालमा नयाँ उद्यमका लागि अर्थपूर्ण व्यावसायिक तथा दुई देशको सम्बन्ध स्थापित गर्न र नेपालको व्यावसायिक वातावरणबारे विस्तृत रुपमा बुझ्न नेपाल भ्रमणमा आएको टाेलीले बताएकाे छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलले भेट गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालको समृद्धिका लागि विदेशी लगानीलाई प्रोत्साहन र सहजीकरण गर्न सरकारले कानुुनी र संरचनात्मक सुधार गर्दै आएको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरेका छन्।
प्रतिनिधिमण्डलले नेपालमा फोहोर (प्लास्टिक) प्रशोधन, सूचना प्रविधि उद्यान, पर्यटन, कृषि, सूचना प्रविधि, जनशक्ति, कपडा आदि क्षेत्रमा काम गर्न उत्सुक भएको जनाएको छ।