दिपेश सिंजाली मगर
मंसिर ३० काठमाडौं ।
मानिसको जन्म पछि मृत्यु सम्मको अवधिमा गनिने गणितीय गणनालाई उमेर भनेर बुझ्न सकिन्छ।
उमेर कसरी गणना गर्ने भन्ने सन्दर्भमा दुई थरीको प्रयोग प्रचलनमा रहेको पाईन्छ । एक, जन्म पछि १२ महिना पुरा अवधि पुगेपछि वर्ष दिन पुगेको मानिने हाम्रो देशमा प्रचलन छ।
दक्षिण कोरिया लगाएतका देशमा अर्को थरी जन्मेको ३ महिना पछि वर्ष दिनको हुने अर्थात ९ महिना अवधि पुगे पछि बच्चा जन्मने भएकाले ९+३ गरि एक वर्ष हुने प्रचलन बिद्यमान छ। यहिं प्रचलन अनुरुप मान्छेले आफ्नो उमेर अनुरुपको व्याबहार देख्न –अनुभूति गर्न सकिन्छ।
मानिसको उमेर कहिले देखि गणना गर्न सुरु गरियो यकिन तथ्यांक छैन तथापि मानवशास्त्रीहरुका अनुसार करिव चालिस हजार वर्ष पहिले देखि हुदै आएको भनाई छ। यसलाई वैज्ञानिक तवरले हेर्दा ई.पू. र वि.सं.को प्रयोग बाट प्रयोग मा आएको हुन सक्ने अनुमान गर्न सकिन्छ।
हाम्रै हजुरबा आमाहरुको पालामा कति उमेरको हुनु भो भनि सोध्दा ४ बिस पुग्न लागे, यति सालमा जन्मेको भन्ने उहाँहरुको ठ्याक्कै सम्झना छैन। अझ मुसा वर्ष, गाइ बाध्ने समयमा, यति घाम डुब्दा जन्मेको रे भन्ने खालको अनुभव सुनेका छौं।
नेपाली सामाजिक परिवेश अनुसार मानिसको जीवनलाई बिभाजन गर्ने हो भने सबै भन्दा उत्तम बिभाजन चार चरणमा गर्दा उपयुक्त होला एक, बाल्यकाल ०–१५ वर्ष सम्म, बयस्क १५– ४५ वर्ष सम्म, अर्ध बुढेस काल ४५–६० वर्ष सम्म र बुढेसकाल ६० वर्ष देखी माथिको उमेरलाई लिन सकिन्छ। यी चरण बद्व उमेरका आ–आफ्नै विशेषता छन। बाल्यकालको १५ वर्ष सम्म पूर्णतया अभिभावकको अधिनमा रहन्छ। लेख्ने, पढ्ने, खेल्ने र जीवन जिउन बलियो जग बसाउने समय हो।
त्यस पछिको सबै भन्दा सुनौलो समय जहाँ टेकेर परिपक्क हुदै जाने, पढाई सकिसक्ने, जागिर खाने, जागिर नखानेले व्यापार व्यवसाय गर्ने, बिबाह गर्नु पर्ने, सबै भन्दा धेरै काम गरिसक्नु पर्ने यो बयस्क समयमा हो। अधिक उर्जा, शक्ति सम्पन्न मांसपेशी, स्वस्थ मष्तिस्क हुने हुनाले यसको सदुपयोग गर्दै बुढेउली जीवन सहजता बनाउने हो। आफ्नो परिवार, समुदाय र राष्ट्रको लागि पनि अर्पित गर्ने समय यहिँ उमेर समूहको जनशक्ति पर्दछ। यहिँ उमेर जसले भाग्य र भविष्य निर्धारण गर्दछ। जिम्मेवारीको अधिक चाप हुने हुँदा संगै रमाइलो गर्नु पर्ने, मिठो खानु पर्ने र शक्ति प्रदर्षणको स्वभाबले गर्दा बेस्सरी यसमै भुल्ने र रमलिने हुँदा ६० पछिको समय कष्टकर पनि हुन सक्दछ जुन कल्पना गरिएको हुँदैन।
जीवनको उत्तरार्ध प्रवेशको ढोकाको रुपमा ४५ वर्ष पश्चातको समयलाई लिन सकिन्छ। यो उमेर अत्यन्तै जिम्मेवारी बोधको समय हो। पारिवारिक रुपमा कुनै काम गर्दै छ वा कार्यालयको जिम्मेवारी त्यो कामको पार लगाउने, आफ्नो सन्तानको कर्मकाण्ड, माता पिताको उपचार तथा पितृ शोक÷मातृ शोकको पिडा समेत सहन गर्नु पर्ने बिन्दु हो। ६० पछि जिउने क्रममा गरेका सत्कर्म र अकर्मको फल ग्रहण गर्दै बाँकी जीवन नयाँ पिंढीलाई हौसला, मार्गदर्शन प्रदान गर्नु त्यो उमेरको उत्तम हुन् सक्दछ।
समय गतिशील छ। न रोक्न सकिन्छ न कि छेकिन ? सबै जगत सृष्टिको लागि समय उत्तिकै हो मात्र २४ घण्टा, यहीँ २४ घण्टामा हामीलाई आराम गर्नु छ , सत्कर्म कर्म गर्नु छ, अनि मनोरञ्जन पनि के हामि यति छोटो समयमा धित मरुन्जेल आराम, सत्कर्म अनि मनोरञ्जन लिन सकुला त ? पक्कै कठिन छ। धर्मशास्त्र अनुसार देव+दानव को मिश्रणमा मानव बनेको हो यसो हुँदा मानिसमा द्वैद चरित्र देखा पर्ने गर्दछ।
एक मानिसमा थरीथरीका व्याबहार हुने गर्दछ। यहिं मानिसको चिन्तनशीलताले कतै स्वर्ग जस्तो त कतै नर्क जस्तो भईरहेको छ। मानव सभ्यताको विकास हुने क्रममा सबैभन्दा योगदान रहने क्रियाशील उमेर वयस्क उमेरमा भएको तथ्यांक छ। भगवान गौतम बुद्व, दर्शनशास्त्री अस्टिन, कार्लमाक्स, वैज्ञानिक आइन्स्टाइन र विभिन्न कालखण्डको राजा तथा प्रशासकहरुले बयस्क उमेरमा सामाजिक सत्कर्ममा योगदान गरेको उदाहरण लिन सकिन्छ।
यो भन्दा अघि र पछिको उमेरमा बाल्यकाल हुँदा कहिले जवान होला र केहि गरौला भन्ने ? र ४५ काटेपछि जवानी सम्झिदै दिन काट्नु मानिसको बाध्यता हो। प्रकृतिले मानिसको समयलाई विभिन्न कालखण्डमा विभाजित गरेर हरेक उमेर समूहको महत्व र सन्तुलन कायम गर्न खोजिएको देकिन्छ। “सानोलाई माया र बडालाई आदर” भन्ने उखान यसको प्रादुभार्व हुनसक्दछ।
अमेरिकन समाजशाश्त्री मतिल्दा रिले ले आफ्नो “अन द सिग्नीफिकेंस अफ एज इन सोसियोलोजी (१९८७) मा व्यक्तिको उमेरद्वारा समाजको बिकास र परिवर्तनमा प्रभाव पर्ने भनि उल्लेख गरिएको छ। नेपालको जनगणना २०७८ अनुसार १५–६४ वर्ष उमेरको ६५.६९% जनसंख्या रहेको छ।
शारीरिक रुपमा, मानसिक रुपमा र हरेक दृष्टिकोणले सबल मानिन्छ के करीब दुई तिहाई सबल जनसंख्या रहेको नेपाली समाजमा सकारात्मक परिवर्तनको विकासमा सबल छन् त ? अनुसन्धानको विषय बनेको छ। उमेरको अंक बढे पनि बढेको अंक अनुसार त्यसको विशेषतामा विभिधता पाइन्छ।
जवानी अलिकति खर्च गर्ने, अलिकति जोगाउने र अलिकति सम्हाल्ने चीज हो। जवानी अगाडी–पछाडी, दाँया–बाँया चारैतिर हेरेर काट्नु पर्ने व्यस्त सडक जस्तै हो अलिकति संयम हरायो जीवन चेट (सुबिन भट्टराई) यसरी हेर्दा जवानीलाई १५–४५ वर्ष उमेर समुहको मानिसले गर्ने अनुभूति “भावना” हो। यहिं भावनाको चिन्तनशीलताले स्वयम् व्यक्तिको जीवन उत्तरार्ध र भावी पिंढीलाई मार्गनिर्देशन मिल्दछ।
प्रश्न उठ्दछ उमेर र जवानीलाई व्यबस्थापन कसरी गर्ने ? समय सापेक्ष हाम्रो समाज अनुसार पाठ्यपुस्तक, पाठ्यक्रम अध्ययन –अध्यापन छ त ? पक्कै यसको उत्तर गहन र मन्थनको आवश्यकता आइसकेको छ। जनगणना २०७८ अनुसार ७६.२ % नेपालको साक्षरता रहेको छ। तर प्रतिदिन नागारिकमा नैराश्यता बढ्दै जानु, यो समाजमा भविष्य नदेख्नु समय अनुसार राज्यले गर्ने व्यबस्थापनमा कमि, उचित ज्ञानको अभाव आदि हुन।
चंचल मनले सधैँ जवानी चाहन्छ तर त्यो सम्भब देखिदैन। मानिसलाई प्रकृतिले बढ्दो उमेर र घट्दो जवानीमा कायम गरिएको छ । यसो हुँदा भौतिक रुपमा नभएता पनि चिन्तनमा सदाभार जवानीपन ल्याउन सकिन्छ। त्यसको लागि हाम्रो दैनिकीमा केहि परिवर्तन गर्न जरुरी छ।
१. बिहान ४–५ बजे भित्र उठ्ने मन तातो पानी पिउने, हल्का शारीरिक बयाम, ध्यान योग गर्ने, २. बिहानको ६–९ पत्रपत्रिका पढ्ने खाना खाने, ३. ९–५ बजे सम्म कार्यालय समय दिउँसो २–३ बजे खाजा खाने ४. साँझा ७ बजे अघि खाना खाई सक्ने सकेसम्म ३० मिनेट जति हिंड्डुल गर्ने र ९–१० बजे सम्म पढाई सकेर सुति सक्ने यसरी हाम्रो दैनिकीलाई भोजन सहितको सन्तुलित चलायमान गराउन सकेमा जीवनमा सकारात्मक जवानी भरिपूर्ण गर्न सकिन्छ।