मङ्सिर ११ काठमाडौं ।
कालीगण्डकीमा चिसो बढेसँगै जलयात्रा रोकिएको छ।
कालीगण्डकी नदीमा सञ्चालित र्याफ्टिङ (जलयात्रा) बन्द भएको हो। वर्षायाममा पानीको बहाव घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो।
पहिलो याममा सेप्टेम्बरमध्य देखि नोभेम्बर अन्तिम सातासम्म सञ्चालन गरिएको हो। विगतका वर्षभन्दा ढिलोगरी चिसो बढेकाले यस वर्ष दुई साता ढिलोसम्म र्याफ्टिङ सञ्चालन गरिएको रिभर एक्सप्लोर नेपालका सञ्चालक होम पुनले जानकारी दिएका छन्।
नदीमा पानी अत्यधिक चिसो भइसकेकाले अब मार्चदेखि जुनसम्म अर्को यामको जलयात्रा सुरु हुने उनको भनाइ छ।
कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल र कुश्मा नगरपालिका वडा नं ५ गोपाङघाट बाट सुरु हुने र्याफ्टिङ स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलासयमा पुगेर टुङ्गिन्छ। तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यका रूपमा रहेको छ।
कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानी बाट पर्यटक आकर्षित हुने गर्दछन्। यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अष्ट्रेलिया, रसियन, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ।
पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएका पछि कालीगण्डकी र्याफ्टिङको पहिलो गन्तव्य बन्दै गएको छ।