मंसिर १० काठमाडौं ।
भन्सार दर घटेसँगै सुनको मुल्य पनि घटेको छ।
सरकारले भन्सार दर घटाएपछि सुनको भाउ तोलामै १५ हजार ९ सय रुपैयाँ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ सोमबार प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको जनाएको हो।
महासंघका अध्यक्ष अर्जुन रसायलीले भने सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सो दरको प्रभाव सोमबार नै परेको बताएका छन्। ‘सरकारले १० प्रतिशत भन्सार दर कायम गरेपछि सो अनुसार सोमबार देखि सुनको मूल्य समायोजन गरिएको हो।
चाँदीको भाउ पनि तोलामा ९५ रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला १८४५ रुपैयाँ तय गरेको छ। अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ थियो।
चाँदीमा पनि भन्सार दर १५ बाट १० प्रतिशतमा झारिएको छ। यद्यपि अन्तर्राष्ट्रिय बजारमा पनि सोमबार मूल्य केही घटेको हो।