मंसिर ७ काठमाडौं ।
एनआरएनको लगानी धितोपत्र बोर्ड मार्फत भित्र्याउन बोर्डले नीतिगत व्यवस्था गरेको छ।
इन्भेष्टमेन्ट कम्पनीमार्फत गैरआवासीय नेपाली (एनआरएन)को लगानी भित्र्याउनका लागि धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका संशोधन भएको हो।
सरकार र एनआरएनको संयुक्त लगानीमा इन्भेस्टमेन्ट कम्पनी खुल्नेछन्। तिनै इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र बोर्डबाट अनुमति लिएर एनआरएनका लागि नै सेयर जारी गर्न पाउने व्यवस्था निर्देशिकामा समेटिएको हो।
‘गैरआवासीय नेपालीकै सेयर लगानीमा इन्भेष्टमेन्ट कम्पनी खुल्छन् र ती कम्पनीले नेपालका विभिन्न पूर्वाधार तथा आयोजनामा लगानी गर्छन बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारीले भने ‘यही व्यवस्थाका लागि निर्देशिका संशोधन गरिएको हो।’
सरकार र एनआरएनको संयुक्त लगानीका इन्भेस्टमेन्ट कम्पनीले ४९ प्रतिशतभन्दा बढी र १० प्रतिशतभन्दा घटी नहुनेगरी अरु गैरआवासीय नेपालीका लागि सेयर जारी गर्न सक्छन्।