खाडी र युरोप भिजिट भिसामा जानेहरुमाथि कडाइ

मंसिर ६ काठमाडौं ।
खाडी र युरोप भिजिट भिसामा विदेश जानेहरु माथि सरकारले फेरि कडाइ गर्न थालेको छ।

अध्यागमन विभाग स्रोतका अनुसार भिजिट भिसामा विदेश जान लागेकाहरुलाई गन्तब्य देश र यात्राको उद्देश्यबारे सोधपुछ गर्ने गरिएको छ। खाडी मुलुक, क्रोएसिया र पश्चिम युरोपेली देश जान हिँडेका नेपाली महिलाहरुलाई विमानस्थलबाट धेरै फर्काइएको जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले गत साता कुवेत उड्न लागेका २२ महिलालाई एकैपटक विमानस्थलले घर फर्काइदिएको हो।

कार्यविधिले भिजिट भिसामा जानेहरुका लागि आवश्यक कागजात र प्रक्रिया सहज गरेको थियो । त्यसपछि झन् ठूलो संख्यामा श्रमिकहरु भिजिट भिसामा गइरहेका छन्।

अहिले अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने र सम्बन्धित देशको भिसा चाहिने नियम बनाएको छ।

भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाइ टिकट अनिवार्य छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था छ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट÷क्रेडिट कार्ड) पनि अनिवार्य छ।

रोजगारीको उद्देश्यले भिजिट भिसामा विदेश जानेहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य छन्। अहिले विशेष गरी संयुक्त अरब इमिरेट्स (यूएई) मा भिजिट भिसामा गएर रोजगारी गर्नेहरुको संख्या ठूलो छ।

यसकै आधारमा परराष्ट्र र गृह मन्त्रालयले पनि भिजिट भिसामा विदेश जानेहरुमाथि निगरानी बढाउन सुरु गरेको हो।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता बसन्त बोहरा भारत र तेस्रो मुलुकको बाटो प्रयोग गरेर भिजिट भिसामा नेपाली महिलालाई विदेश पठाउने क्रम बढेको पाइएको बताउँछन्।

श्रम मन्त्रालयको नेतृत्वमा नै भिजिट भिसामा श्रमिकहरु अवैध रुपमा विदेश पुग्ने अवस्थाबारे अध्ययन भइरहेको छ र केही दिनभित्र यसबारे प्रतिवेदन बनेपछि त्यस अनुसार भिजिट भिसामा श्रमिक पठाउने क्रमलाई रोक्ने गरी कदमहरु चाल्नेछौं।

सरकारले भने प्रलोभनमा पारेर भिजिट भिसामा श्रमिक पठाउन नदिने गरी कडा नीतिगत र केही नियामकीय व्यवस्थाको तयारी गर्दैछ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *