कात्तिक २४ काठमाडौं ।
युएईमा हुने एसीसी मेन्स यू–१९ एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार हेमन्त थामीको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरेको हो। उनले गत फेब्रुअरीमा कीर्तिपुरमा भएको क्यानडा विरुद्धको खेलमा ओडीआईमा डेब्यु गरेका थिए। चोटका कारण यू–१९ विश्वकप गुमाएका हेमन्तले नेपालको सिनियर टिमबाट समेत खेलिसकेका छन्।
यस अघि यू–१९ टिमबाट आईसीसी यू–१९ विश्वकप खेलिसकेका नेपाली यू–१९ टोलीको उपकप्तान अर्जुन कुमालसहित उत्तम रंगु थापा मगर र आकाश त्रिपाठी पनि टिममा छन्।
यस्तै भर्खरै सकिएको यू–१९ राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरेका युवराज खत्री, विपिन कुमार महतो, सन्तोष यादव र रञ्जित कुमार पनि टोलीमा समेटिएका छन्। नेपाल ए टिमबाट खेलिसकेका मयन यादव पनि टिममा छन्। यसअघि यू–१९ टिममा रहेका नरेन भट्ट र अभिषेक तिवारी पनि टिममा छन्।
यू–१९ राष्ट्रिय प्रतियोगितामा सन्तोष बेस्ट प्लेअर र बेस्ट बलर घोषित भएका थिए । यसअघि उनले नेपालको यू१६ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन्।
अन्तिम टोलीमा १४ जना खेलाडी मात्र हुने भएपनि रिजर्भसहित १८ खेलाडीको सूची सार्वजनिक गरिएको क्यानले बताएको छ।