साउन ६ काठमाडौं ।
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट नेपाल विद्युत् प्राधिकरणद्वारा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ।
राहुघाटको पहिलो र दोस्रो अडिट जोड्ने दुई हजार ३३२ मिटर लामो सुरुङ निर्माण पूरा हुन लागेको हो। रघुगंगा गाउँपालिका–४, दग्नामको फेदीमा रहेको बाँधबाट वडा नं ३ अँधेरीखोलाको दोस्रो अडिट जोड्ने १३ मिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका व्यवस्थापकले बताएका छन्।
तीन हजार ८३६ मिटर लामो दोस्रो र तेस्रो नम्बर अडिटको सुरुङ गत फागुनमा छिचोलिएको थियो । मुख्य सुरुङबाट आउने पानीलाई विद्युत्गृहमा लैजाने पाइप लाइन राख्नका लागि प्रेसर साफ्ट बनाइएको हो। पिप्लेमा ६१ मिटर गहिरो ‘सर्च साफ्ट’ निर्माण भएको छ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्ससँग २०७४ मंसिरमा सम्झौता भएको थियो।
केही दिनमा मुख्य सुरुङ छिचोल्ने तयारी भएको छ।