काठमाडौँ २१ माघ।
ललितपुर बालकुमारीमा गएको पुस १३ गते कोरियाको रोजगारी अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको सन्दर्भमा भएको प्रदर्शनपछि झडप हुँदा दुईजनाको मृत्यु भएको थियो भने यातायातमन्त्रीको गाडी जलाइएको थियो । घटनाको अध्ययन गर्न सरकारले बनाएको जाँचबुझ तथा छानबिन आयोगको म्याद १५ दिन थप भएको छ ।
उक्त घटनाको छानबिन गर्न मन्त्रिपरिषले पुस १६ गते गठित जाँचबुझ आयोगको म्याद १५ दिन थप गरिएको गृहमन्त्रालयका सूचना अधिकारीले जानकारी दिए । समितिलाई छानबिनका लागि एक महिनाको म्याद दिइएको भए पनि काम सम्पन्न हुन नसक्दा म्याद थपिएको हो ।
घटनामा २३ वर्षका सुजन रावत र २२ वर्षका वीरेन्द्र शाहको मृत्यु भएको थियो भने भौतिक पूर्वाधार तथा यातायतमन्त्री प्रकाश ज्वाला चढेको गाडी प्रदर्शनकारीले जलाएका थिए । त्यसपछि सरकारले पूर्वन्यायाधीश शेखर पौडेलको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो ।