काठमाडौं,१३ पुस
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादी र जनता समाजवादी पार्टी लाई पनि सरकारमा समेट्ने प्रयास थालेका छन् । यसका लागि प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् ।
ललितपुरस्थित प्रचण्डको एक नातेदारको निवासमा भएको भेटमा नेपाल र यादवको पार्टीलाई समेत समेटेर मन्त्रिपरिषद विस्तारबारे छलफल भएको स्रोतले बताएको छ ।
नेकपा माओवादी केन्द्रका एक नेताले यही पुस २५ गते संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार हुनसक्ने बताएका छन् । ती नेताले भने, ‘अध्यक्षले अहिले पार्टी भित्र र बाहिर पनि छलफल चलाइरहनु भएको छ । यसै क्रममा माधव नेपाल र उपेन्द्र यादवसँग छलफल भयो । संसद अधिवेशन सुरु भएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार छलफल अघि बढेको छ ।’
मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । अन्य दलहरुलाई पनि समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि उनीहरुको मन्त्रालय तोकिने स्रोतले बतायो ।