काठमाडौ, १६ भदौ
सरकारले मुक्त घोषणा गरेको दुई दशकभन्दा बढी हुँदा पनि मुक्तकमैयाको न्यायोचित पुनःस्थापनाको कार्य हुन सकेको छैन । मुक्त कमैयालाई पुनःस्थापना गर्दा खोला बगर, वन क्षेत्र, सुकुम्बासीले भोग चलन गरेको जग्गा उपलब्ध गराउँदा नदी कटानसँगै बसोबास गर्न नसकिने बाटो किनार जङ्गलका छेउछाउको जग्गामा बस्न बाध्य पारिएको मुक्तकमैयाका अगुवाले बताए । शिक्षा, स्वास्थ्य, रोजगारमा मुक्त कमैयाको पहुँच नपुगाइएको मुक्तकमैया अगुवाको भनाइ छ ।
“मुक्तकमैयाको जीविकोपार्जन गर्न कुनै विकल्प छैन”, मुक्तकमैया समाजका अध्यक्ष घाँसीराम रानाले भने, “वर्षायाममा र गर्मीयाम सिजनल मजदुरीबाहेक काम पाउने अवस्था छैन ।” रोजगारीका लागि छिमेकी देश भारत गएर न्यून ज्यालामा काम गर्नुपर्ने भएकाले जीवन निर्वाह गर्न समस्या भएको उनले उल्लेख गरे । जग्गा बन्धक राख्न नपाउने भएकामा सीप भएकाले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नसकि व्यवसाय गर्न नपाएको बताए ।
मुक्त कमैया बालबालिका शिक्षाबाट वञ्चित भइरहेको उल्लेख गर्दै रानाले विद्यालय भर्ना गरे पनि आर्थिक अभावले बीचमै विद्यालय छुटाएर कमलरी लगाउन बाध्य भएको बताए ।