साउन १२ काठमाडौं ।
एक वर्षमा काँकरभिट्टा नाका बाट नौ हजार बढी पर्यटक नेपाल भित्रिएका छन् ।
गत आर्थिक वर्ष २०८२,८३ मा नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै ९ हजार ४४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् ।
अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक काँकरभिट्टा नाका भएर नेपाल भित्रिएको बताएका छन् ।
छिमेकी देश भारतका नागरिकका लागि भिसा अनिवार्य नभएकाले यस तथ्याङ्कमा भारतीय पर्यटकको सङ्ख्या समावेश नगरिएको कार्यालयले जनाएको छ ।
यस नाका बाट कुल ८६ देशका नागरिक आवतजावत गरे पनि सबैभन्दा बढी भुटानी पर्यटक भित्रिएको जनाएको छ ।
कुल आगमनको ५३ प्रतिशत अर्थात् ४९९४ जना भुटानी नागरिक, दोस्रो स्थानमा अमेरिकाका नागरिक जहाँबाट २३ प्रतिशत अर्थात् २१५२ जना अमेरिकी पर्यटक नेपाल भित्रिएको निमित्त प्रमुख राजवंशीले जानकारी दिएका छन् ।
मुख्य पर्यटकीय यामको रुपमा पुस र माघ महिनालाई मानिन्छ । सबै भन्दा बढी पुस महिनामा १८५० जना र सबै भन्दा कम भदौ महिनामा २१६ जना पर्यटक नेपाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
पुस र माघ महिनामा भुटानमा जाडो बिदा हुने भएकाले त्यहाँका नागरिक झापा तथा वरपर रहेका आफन्त भेटघाट गर्न र पूर्वको पशुपतिनाथका रूपमा परिचित खोटाङको हलेसी महादेवको दर्शन एवं तीर्थयात्राका लागि आउने गरेकाले सो समयमा चाप बढेको निमित्त प्रमुख राजवंशीले बताएका छन् ।
