इरानले पुनः होर्मुज जलमार्ग बन्द गराएको छ ।
विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिएको ‘स्ट्रेट अफ होर्मुज’ इरानले अनिश्चितकालका लागि बन्द गराएको घोषणा गरेको हो ।
इरानले होर्मुज बन्द गरेको घोषणा गरे पछि अमेरिका र इरानबीचको तनाव थप चुलिएको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले साइप्रसको झण्डा बोकेको एक व्यापारिक जहाज माथि इरानले ‘खुला रूपमा आक्रमण’ गरे पछि तेस्रो चरणको सैन्य कारबाही सञ्चालन गरिएको जनाएको छ । भने इरानले अमेरिकी आक्रमणको जवाफ अझ कडा हुने चेतावनी दिएको छ ।
अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले सामाजिक सञ्जाल एक्समा सेन्टकमको विज्ञप्ति साझा गर्दै लेखेका छन्, ‘इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने जनाएको छ।’
इरानको सरकारी सञ्चारमाध्यमले आईआरजीसीले होर्मुज मार्ग अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
इरानी पक्षका अनुसार स्वीकृत मार्ग छाडेर यात्रा गरिरहेको जहाजलाई पटक–पटक चेतावनी दिँदा पनि अटेर गरेपछि नौसैनिक क्रुज मिसाइल प्रहार गरिएको उल्लेख गरेको थियो ।
यस अघि पनि अमेरिकी सिफारिसमा ओमानको जलक्षेत्र हुँदै यात्रा गरिरहेका तीनवटा व्यापारिक तेल ट्यांकर माथि आक्रमण भएको थियो । इरानले आफ्नो जलक्षेत्र हुँदै जाने मार्ग नै ‘सुरक्षित’ भएको दाबी गर्दै आएको छ।
तनावबीच इरानका सर्वोच्च नेता आयतुल्लाह मोज्तबा खामेनीले नेतृत्व सम्हाले पछि पहिलो सार्वजनिक सन्देश दिएका छन् ।
उनका पिता तथा पूर्वसर्वोच्च नेता आयतुल्लाह अली खामेनीको गत फेब्रुअरी २८ मा अमेरिका–इजरायल आक्रमणका क्रममा मृत्यु भएको थियो। शुक्रबार उनको गृहनगर मशहदमा अन्त्येष्टि गरिएको थियो ।
राज्य सञ्चार माध्यम मार्फत प्रसारित सम्बोधनमा मोज्तबा खामेनीले ‘बदला लिनु राष्ट्रको इच्छा’ भएको बताएका छन् । उनले अमेरिका र इजरायललाई संकेत गर्दै दुई युद्धमा मारिएका सबै व्यक्तिको रगतको बदला लिइने चेतावनी समेत दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
