आज देखि झापाका चिया उद्योग बन्द

असार ४ काठमाडौं ।
आज देखि झापाका चिया उद्योग बन्द भएको छ ।

भारतले नेपाली चिया निर्यातमा अघोषित रोक लगाए पछि पूर्वका चिया उद्योगहरू धमाधम बन्द हुन थालेका हुन् ।

असार १ देखि इलामका ५६ उद्योग बन्द भएकोमा आज देखि थप झापाका ३० भन्दा बढी चिया उद्योग र करिब दुई दर्जन चिया बगानहरू पनि पूर्णरूपमा बन्द भएका छन् ।

चियाको पकेट क्षेत्र मानिने इलाम र झापामा उत्पादित चिया गोदाममै थन्किए पछि सरकारले कूटनीतिक पहलमा बेवास्ता गर्दा बाध्य भएर चिया उद्योग बन्द गर्नुपरेको नेपाल चिया उत्पादक संघले जनाएको छ ।

संघ अध्यक्ष आदित्य पराजुलीका अनुसार भारतले गरेको अवरोध खुलाउन बारम्बार सरकारी निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभए पछि व्यवसायीहरू यो कदम चाल्न बाध्य भएको जनाएका छन् ।

अध्यक्ष पराजुलीका अनुसार ‘विगतमा यस्ता समस्या आउँदा सरकारले केही चासो देखाउँथ्यो, तर यसपालि चरम बेवास्ता गरिएका कारण बाध्यताले उद्योगहरू बन्द गर्नु परेको जनाएका छन् ।’

निर्यात ठप्प हुँदा उद्योगका गोदामहरू तयारी चियाले भरिभराउ छन् भने दैनिक काम प्रभावित भएको छ ।

उत्पादित चिया नै बिक्री नभएपछि कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीलाई तलब दिनसमेत नसक्ने अवस्था सिर्जना भएको व्यवसायीहरूले बताएका छन् ।

भारतले चिया निर्यातमा लगाएको अवरोध नहटेसम्म बन्दका कार्यक्रम फिर्ता नहुने संघले चेतावनी दिएको छ ।

यसरी चिया निर्यात रोकिँदा र उद्योगहरू बन्द हुँदा यस क्षेत्रमा प्रत्यक्ष रूपमा आश्रित करिब ६० हजार श्रमिक, कर्मचारी र किसानको रोजीरोटी गम्भीर संकटमा परेको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *