वैशाख १८ काठमाडौं।
भारतले चीनसँगको समन्वयमा लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खोलेको छ।
भारतको विदेश मन्त्रालय द्धारा जारी प्रेस विज्ञप्तिमा चीन सारकारसँगको समन्वयमा मानसरोवर यात्रा सञ्चालन हुने भएको जनाएको हो।
भारतको विदेश मन्त्रालयले सन् २०२६ का लागि कैलास मानसरोवर यात्राको औपचारिक घोषणा गर्दै आवेदन खुला गरेको जनाएको छ।
मन्त्रालयका अनुसार आगामी जुन देखि अगस्टसम्म यात्रा सञ्चालन हुने भए पनि यस बारे नेपाललाई कुनै जानकारी दिइएको छैन।
मानसरोवर यात्राका लागि भारतले उत्तराखण्ड हुँदै लिपुलेक पास र सिक्किमको नाथुला पास गरी दुईवटा मार्ग तय गरेको छ।
नेपालको लिपुलेक र कालापानी क्षेत्र अहिले भारतको नियन्त्रणमा रहेको छ। भने भारतले यो भूभाग आफ्नै भएको दाबी गर्दै आइरहेको छ।
विगतका दिनमा लिपुलेक हुँदै चीन र भारतबीचको नाका सञ्चालनमा ल्याउने दुई देशबीच सहमति हुँदा पनि नेपालले त्यसको विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो।
भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमा लिपुलेक बाट १० वटा टोली र सिक्किमको नाथुला बाट १० वटा टोली कैलास यात्रामा जान सक्ने उल्लेख गरेको छ। प्रत्येक टोलीमा ५० जनाका दरले कुल एक हजार जना यात्री सहभागी हुन सक्ने जनाएको छ।
प्रजातन्त्र स्थापना पछि १९९० को दशकमा लिपुलेक र कालापानीको विवाद चर्कियो। सन् १९९८ मा आफ्नो भारत भ्रमणका बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले यो विषय भारतसँग औपचारिक रूपमा उठाएका थिए। त्यसपछि दुई देशबीच यो विषय सल्टाउन संयन्त्र बने पनि विवाद अहिलेसम्म कायमै छ।