चैत २७ काठमाडौं।
नेपाल आयल निगमले इन्धन खपत घटाउन विशेष अपिल गरेको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गर्दै इन्धन खपत घटाउन र मितव्ययिता अपनाउन उपभोक्तालाई विशेष अपिल गरेको हो।
कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र निगमको वित्तीय संकटका कारण २६ चैत देखि मूल्य समायोजन गरिएको बताएका छन्।
निगमले सार्वजनिक सन्देश जारी गर्दै मध्यपूर्वमा जारी युद्ध र अन्तर्राष्ट्रिय बजारको अस्थिरताका कारण निगम चरम आर्थिक संकटमा परेको बताएका छन्।
निगमले आगामी अप्रिल २३ मा १६ अर्ब ३७ करोड रुपैयाँ भुक्तानी गर्नुपर्ने चुनौती र आपूर्ति शृङ्खला अवरुद्ध हुन सक्ने चेतावनी समेत दिएको छ।
कार्यकारी निर्देशक भट्टले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमको वित्तीय अवस्था ‘धराशायी’ हुन पुगेको उल्लेख गरेको छ।
कार्यकारी निर्देशक भट्टले विभिन्न स्रोत बाट रकम जुटाएर आई ओसीलाई ठूलो रकम भुक्तानी गरेको जनाएको छ।
आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने उच्च सम्भावना मध्यनजर गर्दै निगमले मूल्य समायोजनको कठिन निर्णय लिनुपरेको कार्यकारी निर्देशकले बताएका छन्।
मूल्य समायोजन अघि निगमलाई पेट्रोलमा प्रतिलिटर ३४ रुपैयाँ ३६ पैसा, डिजेलमा १ सय २० रुपैयाँ ५४ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय १६ रुपैयाँ ३७ पैसा घाटा भइरहेको र यसले गर्दा निगमले दैनिक करिब ७८ करोड रुपैयाँ घाटा बेहोर्दै आएको जनाएको छ।
समायोजन मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल र मट्टीतेलमा २५ रुपैयाँ, एलपी ग्यासमा प्रतिसिलिन्डर १ सय रुपैयाँ र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ६ रुपैयाँ वृद्धि गरिएको निगमले जनाएको छ।