साउन १० काठमाडौं ।
तल्लो सोलु जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा आबद्ध भएको छ।
हिमाली जिल्ला सोलुखुम्बुस्थित ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना निर्माणसम्पन्न सोलु करिडोरको १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा जोडिएको हो।
निजी लगानीमा निर्माण भएको सोलु हाइड्रोपावर लिमिटेडद्वारा प्रवद्र्धित उक्त आयोजनाले गत साउन ४ गतेदेखि पहिलो युनिटको विद्युत् उत्पादन सुरु गरी परीक्षणसहित ग्रिडमा जोडिएको आयोजनाका सहायक प्रबन्धक कृष्णबहादुर चौधरीले जानकारी दिएका छन्।
सोलुदूधकुण्ड नगरपालिका–७ र ११ को सिमानामा पर्ने साल्मेमा बाँध निर्माण गरी, करिब ६ किलोमिटर तल तिङ्लाको भदौरेस्थित भूमिगत पावरहाउसमा पानी झारेर विद्युत् उत्पादन गरिएको जनाएको छ।
४१,४१ मेगावाट क्षमताका दुईवटा पेल्टन टरबाइन जडान गरिएको र दुवै युनिटको ग्रिडमा सफल परीक्षण सम्पन्न भइसकेको हुँदा नेपाल विद्युत् प्राधिकरणले आगामी १५ दिनसम्म उत्पादन परीक्षण गर्ने जनाएको छ।
परीक्षण पश्चात विद्युत् प्राधिकरणको स्वीकृति प्राप्त पछि आयोजनाले व्यावसायिक रूपमा नियमित विद्युत् प्रवाह सुरु गर्ने जनाइएको छ।
तल्लो सोलु आयोजना बाट हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा अधिकतम ८२ मेगावाट विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ। भने उत्पादन भएको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत तिङ्ला सबस्टेसन हुँदै राष्ट्रिय ग्रिडमा प्रवाह भइरहेको छ।