वैशाख २७ काठमाडौं ।
पाकिस्तानको हमलाबाट भारतको ब्रह्मोस मिसाइल भण्डारणस्थल प्रभावित भएको जनाएको छ। भारतको पञ्जाब राज्यको ब्यास सहरमा रहेको ब्रह्मोस मिसाइल भण्डारणस्थल पनि पाकिस्तानको हमलाबाट प्रभावित भएको दाबी सुरक्षा स्रोतहरुले गरेको छ।
पाकिस्तानी सेनाले भारतको ‘अपरेशन सिन्दूर’विरुद्ध जवाफी कारबाही सुरु गरेको जनाएको हो। भारतको आक्रमणको जवाफमा पाकिस्तानले आधिकारिक रूपमा ‘बुनयान–उल–मरसूस’ को नाममा जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले उल्लेख गरेको हो।
पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरीफले एक टेलिभिजन सम्बोधनमार्फत भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरे पनि सबै वायुसेना संरचनाहरू सुरक्षित रहेको जिकिर गरेका छन्।
भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो। भारतद्वारा प्रक्षेपित केही मिसाइलहरू अफगानिस्तान पनि पुगेको शरीफले दाबी गरेका छन्।
भारतको रक्षा मन्त्रालयले भारतमा बारामुलादेखि भुजसम्म २६ स्थानहरूमा शंकास्पद सशस्त्र ड्रोनहरू देखिएको यो ड्रोनहरूले नागरिक तथा सैन्य संरचनाहरूमा क्षति पु¥याउन सक्ने मन्त्रालयले जनाएको छ।
यी ड्रोनहरू पाकिस्तानसँग सीमा जोडिएका अन्तर्राष्ट्रिय सिमाना र नियन्त्रण रेखा नजिकका विभिन्न स्थानहरूमा देखिएका हुन्।