चैत ३१ काठमाडौँ ।
वैशाख महिना देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य हुने भएको छ। सरकारले वैशाख १ गतेदेखि सिमेन्ट र डन्डी (फलामे छड)मा एमआरपी अनिवार्य गरेको हो।
सिमेन्ट र फलामे छडमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) अनिवार्य राख्नका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निर्देशन दिएको हो।
विभागले चैत १४ गते विभागले एक सूचना जारी गर्दै सिमेन्ट र डन्डी उद्योगीलाई फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिएको थियो।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सिमेन्ट र डन्डी उद्योगीलाई विभागको छलफलमा बोलाएर वैशाख १ गतेदेखि एमआरपी मूल्य अनिवार्य राख्न निर्देशन दिइएको जानकारी दिएका छन्।
विभागले स्वदेशमा उत्पादित तथा आयातित वस्तुमा अनिवार्य एमआरपी उल्लेख गर्न र उत्पादक तथा आयातकर्तालाई कुनै पनि वस्तु बजारमा पठाउनु अघि लेबल राखेर मात्र पठाउन निर्देशन दिइएको छ।
बजारमा पठाउने वस्तुको लेबलमा उत्पादकको नाम ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र व्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने एमआरपी उल्लेख गर्नुपर्ने जनाएको छ।
गुणस्तर निर्धारण भएको वस्तु भए वस्तुको गुणस्तर, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्न समेत निर्देशन दिइएको छ।