फागुन २५ काठमाडौं ।
आज नेपाल राष्ट्र बैंकले २५ अर्ब बराबरको तरलता खिच्न लागेको छ।
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि तरलता खिच्ने क्रम जारी राखेको हो। आज निक्षेप संकलन उपकरण बोलकबोल मार्फत २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१, ८२ को सुरुवात बाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ।
केन्द्रीय बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो। आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी १७ चैतमा भुक्तानी हुनेछ।
निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन्।