आज भयो सिद्धबाबा सुरुङको ‘ब्रेक थ्रु’

माघ ११ काठमाडौं ।
आज राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन सिद्धबाबा सुरुङको ब्रेक थ्रु भएको छ। भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज सुरुङ मार्गको ब्रेक थ्रु गरिएको हो।

भौतिक पूर्वाधारको क्षेत्रमा नौलो अभ्यास मानिएको सुरुङमार्गको ब्रेक थु्रलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाले उत्सवको रुपमा कार्यक्रम आयोजना गरेको हो।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोल्ने काम सकिएको छ।

सुरुङ मार्ग उद्घाटनको अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताएका छन्।

सुरूङमार्गले सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुलाई सहज हुने मात्र नभई पहाडी जिल्लाको उत्पादनलाई बुटवल सम्म ल्याउन सहज पुग्ने बताए।

सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको क्षेत्र वर्षा होस् या हिउँद सधै पहिरोको उच्च जोखिममा पर्छ। वर्षामा मात्र होइन हिउँदमा समेत झर्ने सुख्खा पहिरोको जोखिमलाई मध्यनजर गर्दै सरकारले राष्ट्रिय गौरवको आयोजनाको रूपमा सुरूङमार्ग निर्माण कार्य अगाडि बढाएको थियो।

आयोजना प्रमुख कृष्णराज अधिकारीले कुल एक हजार १२६ मिटर लामो सुरूङमार्गको खन्नुपर्ने भित्री भाग एक हजार ८९ मिटर रहेको र सबै खनेर ब्रेक थ्रु गरिएको जानकारी दिएका छन्।

सुरूङमार्गमा कुनै समस्या आइपरे आपतकालीन निकासका लागि तीन वटा बाइपास सुरूङ राखिएको छ। १५१ मिटर, १६१ मिटर र १३० मिटर गरी तीन वटै बाइपास सुरूङ पनि यस अघि नै ब्रेक थ्रु भइसकेका थियो।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अगाडि बढाइरहेको यो सुरूङमार्ग बनेपछि बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पर्वत लगायत लुम्बिनी र गण्डकी प्रदेशका पहाडी जिल्लामा आवतजावत गर्ने सहज हुनेछ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *