माघ ११ काठमाडौं ।
रविविरुद्ध सहकारी ठगी मुद्दामा थुनछेक बहस जारी छ।
जिल्ला अदालत रुपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको सहकारी ठगी र संगठित अपराध मुद्दाको थुनछेक बहस सुरू भएको हो।
आज जिल्ला न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक बहस जारी छ।
बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। बिहीबार वादीका तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेल,सहायक जिल्ला न्यायाधिवक्ता बसन्तराज पोखरेल, गोकर्णराज घिमिरे, सुनिल लामिछाने, पवित्र भण्डारी, सोमकान्त भण्डारी, उप न्यायाधिवक्ता रवि न्यौपाने, प्रकाश मरासिनीले बहस गरेका थिए।
त्यस्तै जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए। आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ। दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने संभावना रहेको बताएका छन्।
बुधबार अदालतमा हाजिर भएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो।