कात्तिक १५ काठमाडौँ ।
सर्वोच्च शिखर सगरमाथामा क्षेत्रमा पर्यटकको चहलपहल बढ्दो छ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको अनुसार सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरेका छन्।
खुम्बु क्षेत्रमा भित्रिएका पर्यटकबाट दुई करोड तीनलाख ४८ हजार पाँचसय ५३ राजश्व सङ्कलन भएको छ। लुक्लादेखि सगरमाथाको आधार शिविरसम्म पर्यटकीय चहलपहल बढ्दो छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका तथ्याङ्क छ। हाल आन्तरिक र विदेशी पर्यटकले अन्नपूर्ण आधार शिविर भरिभराउ छ।
त्यहाँ पुग्ने पदमार्गको पहिचान भएको १३ वर्षको अवधिमा यसपटक धेरै पर्यटक आएको पदमार्गका अभियन्ता तेज गुरुङले बताएका छन्।
मुख्य पर्यटकीय याम अहिले चलिरहेकाले देशभरका पर्यटकीय गन्तव्यहरूमा चहलपहल बाक्लिएको हो। पदयात्रा र पर्वतारोहणका लागि शरद ऋतु उपयुक्त मानिन्छ। वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहण र पदयात्रामा सबैभन्दा धेरै विदेशी पर्यटक आउने गरेका छन्।
साहसिक पर्यटनका लागि अति उपयुक्त मानिने यस याममा हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको रुचाउँछन्। नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि यो याम उपयुक्त मानिन्छ।
मनास्लु, अमादब्लम, अन्नपूर्णलगायतका उच्च हिमशृङ्खला आरोहण पर्यटकको रोजाइमा पर्छ।