भदौ २७ काठमाडौं ।
भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको बिहीबार निधन भएको छ।
अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स अस्पताल दिल्लीमा भर्ना गरिएको थियो। पछिल्लो २५ दिनदेखि उपचार रहेका ७२ वर्षीय येचुरी श्वास प्रश्वासको समस्याले केही समयदेखि उपचारमा थिए।
भारतीय अखबार हिन्दुका अनुसार येचुरीका श्रीमती, एक छोरा र एक छोरी छन्। उनका एक छोराको कोभिड संक्रमणका कारण सन् २०२१ मा निधन भएको थियो। उनी सन् २०१५ मा भाकपा मार्क्सवादीका महासचिव चुनिएका थिए। उनी पार्टीमा ३ पटकसम्म महासचिव बनेका थिए।
येचुरीले नेपालको शान्ति प्रक्रियालाई समेत सघाएका थिए। नेपालमा जनआन्दोलन चल्दा येचुरी लगायत नेताले भारतमा सोलिडारिटी ग्रुप बनाएका थिए। जसले विद्रोही माओवादीलाई शान्तिपूर्ण अवतरण गराउन येचुरीको दल सीपीएम समेतले भूमिका खेलेको थियो।
जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी युनियनको अध्यक्षसमेत बनेका येचुरी नरम लोकतन्त्रवादी कम्युनिस्ट मानिन्थे। नेपालमा उनी नेकपा एमालेसँग निकट रहे पनि कांग्रेस लगायत दलसँग समेत उनको सम्बन्ध राम्रो रहेको जानकारहरु बताउछन्।
उनको शरीर शिक्षण र अनुसन्धानका लागि अस्पताललाई दान गरिएको अस्पतालबाट जारी गरिएको विज्ञप्तिले जनाएको छ।