मंसिर १२ काठमाण्डौ l
दिपेश सिंजाली मगर l
नेपालको मध्य-पहाडी भूभागमा अवस्थित हाल हिमाली जिल्लामा समाबेश गरिएको रामेछाप जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक दृष्टिकोणले एक अत्यन्त समृद्ध र सम्भावनायुक्त पर्यटकीय गन्तव्य हो।
ऐतिहासिक गढीहरू, प्राचीन मन्दिरहरू, बौद्ध गुम्बाहरू, क्रान्तिकारी शहीदहरूको जन्मभूमि, र मनमोहक पहाडी भूगोलले भरिपूर्ण रामेछाप आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउँने प्रमुख गन्तव्य बन्न सक्छ ।
रामेछाप जिल्लामै पहिलो पटक सुरु गरिएको व्यावसायिक रुपमा पर्यटन प्रवर्धन, रामेछाप नगरपालिकाको आयोजनामा सूर्यचका फाउन्डेसन र रामेछाप बजार उद्योग बाणिज्य संघ रामेछापको समन्वयमा मंसिर ५ र ६ गते रामेछाप सम्पदा पदमार्ग आयोजना गरेर सम्पन्न गरिएको छ ।
विभिन्न पर्यटन क्षेत्र संग सम्बन्धित विषय विज्ञहरु सहित स्थानीयताको सहभागीतामा नगरपालिकाको क्षेत्र भित्र पर्ने ऐतिहासिक धरोहर सांस्कृतिक मूल्य मान्यता बोकेको धार्मिक मठ मन्दिर गुम्बा, प्राकृतिक सम्पदा र कृषि भूमिको अवलोकन गरिएको थियो ।
पृष्ठभूमि
रामेछाप जिल्ला भौगोलिक विविधता, ऐतिहासिक धरोहर र सांस्कृतिक बहुलताले भरिपूर्ण क्षेत्र हो। काठमाडौँ उपत्यकाबाट छोटो दूरीमा पुग्न सकिने भए तापनि प्रचार-प्रसार र योजनाबद्ध पूर्वाधार विकासको कमीका कारण रामेछापका धेरै पर्यटकीय सम्भावना स्थलहरु ओझेलमा परेका छन्।
समुद्र सतहको उच्च पहाडी काखमा अवस्थित रामेछाप बजार केवल एउटा प्रशासनिक वा भौगोलिक थलो मात्र होइन, ३५० वर्षभन्दा बढीको समृद्ध इतिहास बोकेको जीवन्त सङ्ग्रहालय हो । वि.सं. २०४५ सालसम्म जिल्लाको सदरमुकामको रूपमा चम्किएको यो बजारले नेपालको राजनीतिक, प्रशासनिक र सांस्कृतिक इतिहासमा अनेकौँ मोडहरू पार गरेको छ ।
पदमार्गको पर्यटन नगरीमा जोडिएका महत्वपूर्ण स्थलहरु:
१. तीन लालको जन्म भूमि जन्मभूमि र तुलेश्वर महादेव मन्दिर: भंगेरी
रामेछापका लागि भंगेरी ऐतिहासिक पवित्र माटो हो, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनका अमर शहीद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ जस्ता क्रान्तिकारी सपूतहरूलाई जन्म दियो।
ती वीरहरूको स्मृतिमा नेपाल सरकार र स्थानीय बासिन्दाको सहयोगमा करिब ५२ रोपनी जग्गामा विशाल ‘पुष्पलाल स्मृति पार्क’ निर्माण भइरहेको दृश्यले मनमा देशभक्तिको भावना जागृत गराउँछ।
भंगेरीकै धारापानी क्षेत्रमा दुई शताब्दीभन्दा पुरानो तुलेश्वर महादेव मन्दिर रहेको छ। समाजसेवी (अनिल लेकालीका अनुसार)
बैकुण्ठ बहादुर श्रेष्ठ, मेहतराज श्रेष्ठ, तुलाधर श्रेष्ठलगायतका पूर्वजहरूको योगदानमा निर्मित यो मन्दिर पुरातात्त्विक दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। वि.सं. २०६६ को पुरातात्त्विक सर्भेक्षणमा यो मन्दिर दुई शताब्दी पुरानो रहेको पुष्टि भएको रहेछ। मन्दिर परिसरमा रहेको प्राचीन कुवा, ढुङ्गेधारा र दुई सय वर्ष पुराना दुई धाराहरूले तत्कालीन समयको उत्कृष्ट स्थापत्य कलाको झझल्को दिन्छन्।
नेवार समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा सांस्कृतिक रूपमा श्रीकृष्ण मन्दिर पनि शोभायमान छ। हरेक वर्ष मनाइने गाईजात्रा, रोपाईँ जात्रा र श्रीकृष्ण जन्माष्टमीमा निकालिने प्रसिद्ध ‘लाखे जात्रा’ ले यहाँको सांस्कृतिकतालाई जीवन्त राखेको छ।
२. तिलकेस्थान गढी
रामेछापको माटो वीरताको कथाले भरिपूर्ण छ। समुन्द्री सतहबाट १६४८ मिटर उचाइमा अवस्थित ऐतिहासिक ‘तिलकेस्थान गढी’ पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानका क्रममा सरदार गोर्खाली फौजले वि.सं. १७६७ मा इस्ट इन्डिया कम्पनीका अंग्रेजी फौजविरुद्ध सिन्धुलीगढीको लडाई लड्ने समयमा सहायक गढ़िको रुपमा तयार गरेको भन्ने प्रचलन सिला लेखमा छ ।
गढी परिसरमा किल्लाका पुराना पर्खालहरू र तत्कालीन युद्ध रणनीतिका पदचिन्हहरू स्पष्ट देख्न सकिन्छ। गढीभित्र स्थापना गरिएको “खाँडादेवी भगवती मन्दिर” मा प्रत्येक वर्ष चैते दसैँ र वैशाख पूर्णिमाका दिन भव्य पूजाआजा र मेला लाग्ने गर्छ।
३. डुकुर सिङ डाँडा र भीमसेनस्थान
रामेछाप बजारबाट करिब ५ किलोमिटर पूर्वतर्फ अवस्थित उच्च पहाडी टाकुरा ‘डुकुर सिङ’ डाँडा’ यस डाँडामा नेपालकै सबैभन्दा ठूलो मानिने आकर्षक गणेश मूर्ति र नजिकै भगवान् शिवको मूर्ति स्थापित छ।
डुकुर सिङ डाँडाको सबैभन्दा अनौठो र रहस्यमय आकर्षण भनेको यहाँको पहाडी चट्टानमुनि रहेको गहिरो गुफा हो। स्थानीय बासिन्दाहरूका अनुसार यस गुफाभित्र हावा छिर्दा शङ्ख बजेजस्तै अनौठो र गम्भीर आवाज सुनिन्छ, जसलाई स्थानीयहरू ‘शिवको सासमा आधारित ध्वनि’ मान्छन्। यस टाकुराबाट हिमशृङ्खला, गौरीशङ्कर हिमाल, तामाकोशी र सुनकोशी नदीको नागबेली बहाव प्रस्टै देख्न सकिन्छ।
भीमसेनथान ल्यांगल्यांग डाँडा
स्थानीय जनविश्वास अनुसार मल्लकाल तिर यो मन्दिर स्थापना भएको मानिन्छ तर पुरातात्विक विभागद्वारा वि.सं. २०६६ मा प्रकाशित सर्वेक्षण विवरण अनुसार यस मन्दिरको शिलालेखमा वि.सं. १८४९ को उल्लेख पाइन्छ ।
१२ वर्ष देखि पुजारी काम गर्दै आउनु भएका धन बहादुर श्रेष्ठले बताउनु भए अनुसार गाउँमा कुनै रोगलाग्दा भाकल गर्ने, विदेश जान पाउ भनि भाकल गर्ने आदि आफ्नो मनोआकांक्षा पुराहोस् भनी भाकल गर्ने र पछी कसैले भोग(बलि) दिने, कसैले फुल अक्षेता पाती चढाई भाकल बुझाउने परम्परा रहेको र आज सम्म भीमसेन पुज्ने भक्तजनहरुलाई फलिफाप भएको बताउनुहुन्छ ।
४. मानेडाँडा, टासी छेलिङ र जुनारको भालुखोप
तामाङ संस्कृति र प्राकृतिक सौन्दर्यको अवलोकन रामेछाप नगरपालिका वडा नं. ८ स्थित मानेडाँडामा करिब ६०-७० वर्ष पुराना तामाङ समुदायका परम्परागत घरहरू र तिनका ढोकामा कोरिएका बुद्धका कालिङ्ग (थाङ्का) चित्रहरूबाट देख्न पाइन्छ। वि.सं. २०६९ मा स्थापना गरिएको अमोघसिद्धि बुद्ध भगवानको मूर्तिले मानेडाँडालाई बुद्ध चोकको रूपमा चिनाएको छ।
रामेछाप बजारबाट ५ कि.मी. पूर्वतर्फ भालुखोप डाँडामा अवस्थित ‘टासी छेलिङ गुम्बा’ बौद्ध धर्मावलम्बीहरूको अर्को श्रद्धाको केन्द्र हो। ल्होसार पर्वको समयमा यहाँ ठूलो मेला लाग्छ र तामाङ समुदायको मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिन्छ।
समुद्र सतहबाट १८०० मिटरको उचाइमा फैलिएको भालुखोप क्षेत्र नेपालकै ‘जुनारको राजधानी’ भनेर चिनिन्छ।
असोज-कात्तिकदेखि नै सुन्तला र जुनारले पहेँलै हुने यहाँ बोटैपिच्छे झुलेका रसिला फलहरूले जोकोही यात्रीको मन लोभ्याउँछ। राजधानी काठमाडौँ र अन्य सहरहरूमा आपूर्ति हुने रसिलो जुनारको मूल थलो यही भालुखोप नै हो।
५. भ्यू टावर र पौराणिक तारेश्वरी पोखरी
समुद्री सतह देखि करिव १९३५ मि. उचाईमा निर्मित ५ तले (२० मिटर अग्लो) भ्यू टावरबाट रोलवादिङ हिमाल, गौरीशङ्कर, गणेश हिमालका साथै तराईका समथर भूभाग र पहाडी टाकुराहरूको दृश्य अवलोकन गर्न सकिन्छ। रामेछाप भरी संचालन हुने रेडियोका टावर टेलिकम टावर यहि राखिएको छ
त्यसैगरी, रामेछाप बजारबाट पूर्वतर्फको उच्च भाग सुकाजोरको रिममा अवस्थित ‘तारेश्वरी पोखरी’ अर्को प्राकृतिक र धार्मिक आकर्षण हो। आकाशबाट तारा खसेर पानी जमेको पौराणिक किंवदन्ती बोकेको यस पोखरी नजिकै तारेश्वर महादेवको मन्दिर रहेको छ, जहाँ हरितालिका तीजका दिन भव्य मेला लाग्छ।
६. सैनिकको स्मृति पार्क
रामेछाप जिल्ला अस्पताल नजिकैको जङ्गलमा निर्मित ‘सैनिक स्मृति पार्क’ को वि.सं. २०६६ साल वैशाख १० गते वीरगति प्राप्त गरेका श्री जङ्ग गण तथा श्री रूद्ध छत्र गणका १३ जना वीर सैनिकहरूको सम्मानमा निर्मित यस पार्कले शान्ति र देशभक्तिको सन्देश दिन्छ।
७. लामसाङ डाँडा
करिव १९३६ मिटरको उचाईमा रहेको यस डाँडामा हाल विश्वकै सबैभन्दा अग्लो बुद्वको मुर्ति बनाउने उदेश्यले निर्माणाधीन अवस्थामा छ।
खुल्ला ठाउँ, वरीपरी हरियाली बातावरणमा रहेको यस ठाउँ दोस्रो नगरकोट भनेर भन्न सकिन्छ यहाँ बाट हिमश्रृंखलाहरुमा गौरी संकर, नुम्बुर हिमाल र भूगोलमा सोलुखुम्बु, महोत्तरी, दोलखा, कभ्रेपलान्चोक लगाएत करिव १५ जिल्ला देख्न सकिने पदयात्री तथा रामेछाप पदमार्ग सम्पदाका संयोजक श्री अनिल लेकालीले बताउनु भएको थियो ।
८. गणेशटार मन्दिर स्थल
रामेछाप नगरपालिका ६ नम्बर वडामा रहेको यो स्थल प्राकृतिक रुपमा र धार्मिक रुपमा अनुपम मानिएको छ यहाँ गणेशको मन्दिर संगै २ वटा ठुला ठुला चट्टानहरुको बीचमा ग्याप छ
त्यो चेपबाट वारपार गर्न सक्ने मानिस धर्माती र छिर्न नसकिने अधर्मी रहेको भन्ने जनविश्वास रहेको वडा अध्यक्ष राजेश तामांग बताउनु हुन्छ ।
वर्तमान चुनौतीहरू: पूर्वाधारको अपर्याप्तता, होमस्टे र व्यवस्थित बासस्थानको कमी, कानुनी प्रावधानको जटिलता, डिजिटल सञ्चार माध्यम र पर्यटन नक्सामार्फत रामेछापका पर्यटकीय स्थलहरूको विश्वव्यापी प्रवर्द्धनको प्रचार-प्रसारमा कमि, पर्यटकहरूलाई अड्याउने एकीकृत टुर प्याकेज (Tour Package) को एकीकृत पर्यटकीय प्याकेजको अभाव।
आगामी कार्यनीति: जुनार र सम्पदा पदमार्ग’ (Junar & Heritage Trail) को विकास निर्माण गर्ने। सामुदायिक होमस्टे (Homestay) प्रवर्द्धन: भंगेरी, भालुखोप र आलुसोपमा तामाङ र नेवार समुदायको मौलिक संस्कृति, परिकार र स्थानीय स्वाद दिलाउने गरी होमस्टे सञ्चालन गर्ने। ऐतिहासिक तथा पुरातात्विक संरक्षण, तिलकेस्थान गढी, गणेशटार र भिमसेनस्थान जस्ता ऐतिहासिक सम्पदाहरूको पुरातात्विक मापदण्ड अनुसार संरक्षण गरी सूचना पाटी र गाइडको व्यवस्था गर्ने।
डिजिटल पर्यटन र ब्राण्डिङ: पर्यटकीय स्थलहरूको डिजिटल म्यापिङ, वेबसाइट, र भिडियो वृत्तचित्र निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार-प्रसार गर्ने।
अन्तमा: रामेछाप जिल्ला इतिहास, संस्कृति र प्रकृतिको एउटा अनुपम सङ्गम हो। स्थानीय तह, निजी क्षेत्र र पर्यटन व्यवसायीहरूको संयुक्त प्रयासबाट योजनाबद्ध विकास गर्न सकिएमा वर्तमान र भविष्यमा नेपालकै एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुने देखिन्छ।
