असोज ५ काठमाडौं ।
सभामुख डोलप्रसाद अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले बिदाई भेट गरेका छन् ।
सभामुख डोलप्रसाद अर्यालले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग बिदाई भेट गरी द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन योगदानको प्रशंसा गरे छन् ।
भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा राजदूत श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।
अर्यालले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको र पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले छिमेकीको रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरेका छन् ।
भारतीय वायुसेनाका विमान मार्फत राहत तथा उद्धार सामग्री नेपाल ल्याइनुका साथै सुरुङ उद्धारका लागि विशेषज्ञ टोली तथा फरेन्सिक विज्ञसहितको प्राविधिक सहयोग उपलब्ध गराइएको उल्लेख गर्दै प्राप्त गरेको सहयोगले नेपाल, भारत बीच विद्यमान मैत्री, सद्भाव, ऐक्यबद्धता र सहकार्यको सम्बन्धलाई थप प्रतिबिम्बित गरेको बताएका छन् ।
भेटका क्रममा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको र संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
सभामुख अर्यालले श्रीवास्तवको आगामी जिम्मेवारी तथा व्यक्तिगत जीवनको सुख, शान्ति र सुस्वास्थ्यको कामना गर्दै नेपालमा रहँदाको कार्यकालका लागि धन्यवाद व्यक्त गरेका छन् ।
नवीन श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतका राजदूतका रूपमा कार्यभार सम्हालेको थिए ।