असोज २२ काठमाडौं ।
साउदीको विमानस्थलमा हुथीको आक्रमण भएको छ ।
साउदी अरबका दुई विमानस्थलमा हुथी विद्रोहीले आक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको अनुसार हुथी विद्रोको आक्रमणमा ३६ जना घाइते भएको उल्लेख गरिएको छ ।
राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १ जनाको मृत्यु र ८ जना घाइते भएको साउदी नागरिक उड्डयन प्राधिकरणरले जनाएको छ ।
अब्हा विमानस्थलमा भएको अर्को आक्रमणमा पनि २ जनाको मृत्यु र २८ जना घाइते भएको जनाएको छ ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्ष्य गरी आफूहरूले धेरै ड्रोन प्रहार गरेको बताएका छन् ।
साउदी नेतृत्वको गठबन्धनले भने हुथीले प्रहार गरेको ब्यालेस्टिक मिसाइल रियादको उत्तरमा रोकेको दाबी गरेको छ ।
आक्रमण पछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।
बुधबार साउदी नेतृत्वको सेनाले हुथी नियन्त्रणमा रहेका सादा, होदेदाह, जौफ र मारिब प्रान्तका ८० भन्दा बढी सैन्यस्थलमा आक्रमण गरेको गठबन्धनले जनाएको छ ।
बाब अल–मन्देब माथि नियन्त्रण कायम भएमा त्यहाँ बाट हुने समुद्री यातायात र विश्वव्यापी तेल आपूर्तिमा असर पर्न सक्ने भएकाले साउदी अरबले हुथीविरुद्ध अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको जनाएको छ ।
