असोज २१ काठमाडौं ।
हुम्लामा हिमपात र वर्षाको कारण जनजीवन प्रभावित भएको छ ।
हुम्ला जिल्लामा गए राति देखि परेको वर्षा र हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको हो ।
जिल्लाको नाम्खा, सिमकोट लगायत उच्च हिमाली क्षेत्रमा हिमपात तथा तल्लो क्षेत्र अदानचुली, ताँजाकोट लगायत भएको वर्षाका कारण जनजीवन प्रभावित भइरहेको जनाएका छन् ।
लगातारको वर्षाका कारण ग्रामीण क्षेत्रमा रहेका कच्ची सडक तथा गोरेटो बाटोमा हिलो र पानी जम्दा आवतजावतमा समस्या भएको जनाएको छ ।
वर्षाले पाक्न लागेको तथा खेतबारीमा रहेको अन्नबाली, तरकारी लगायतका बालीमा पनि क्षति पुग्ने जोखिम बढेको स्थानीयले बताएका छन् ।
केही स्थानमा बाढीपहिरो तथा खोलानालामा पानीको बहाव बढ्न थालेपछि स्थानीय त्रसित भएको बताएका छन् ।
वर्षा र हिमपातका कारण पशुचौपायालाई समेत समस्या हुँनुको साथै चिसो बढेपछि खुला तथा गोठमा राखिएका पशुचौपायालाई आहार तथा संरक्षणमा समस्या भएको बताएका छन् ।
अचानक मौसममा आएको परिवर्तनसँगै जिल्लाका उच्च हिमाली क्षेत्रमा थप हिमपात र तल्लो क्षेत्रमा वर्षा जारी रहेकाले सम्भावित क्षतिप्रति सतर्क रहन स्थानीयलाई आग्रह गरिएको र जिल्लाका विभिन्न स्थानमा हिमपात तथा वर्षा भइरहेकाले सुरक्षित रहन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले बताएका छन् ।
