भदौ ९ काठमाडौं ।
सरकारले उखुको समर्थन मूल्य तोक्ने तयारी गरेको छ ।
सरकारले उखु किसानहरूलाई उचित मूल्य दिलाउने उद्देश्य सहित यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी अघि बढाएको हो ।
उचित समर्थन मूल्य निर्धारणका लागि कृषि विभागले उखुखेती धेरै हुने तराईका ११ वटा जिल्लाहरूमा स्थलगत अध्ययन सुरु गरिसकेको जनाएको छ ।
विभागको टोलीले सुनसरी, मोरङ, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा पुगेर किसानको वास्तविक उत्पादन लागत र अन्य खर्चको तथ्यांक जुटाइरहेको जानकारी दिएको छ ।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलका अनुसार यसै सर्वेक्षणबाट प्राप्त यथार्थ विवरणका आधारमा नयाँ समर्थन मूल्य प्रस्ताव गरिने बताएका छन् ।
विभागले यो अध्ययन प्रतिवेदन तयार पारिसके पछि थप छलफल र सहमतिका लागि कृषि वन तथा पर्यावरण मन्त्रालयमा पेस गर्ने जनाएको छ ।
त्यस पछि मन्त्रिपरिषद्को बैठकले उखुको खरिद मूल्य र किसानलाई सरकारले उपलब्ध गराउने अनुदान रकमको अन्तिम टुंगो लगाउने महानिर्देशक सञ्जेलले बताएका छन् ।
