भदौ ७ काठमाडौं ।
अर्घाखाँचीमा कानुनबमोजिम वन्यजन्तु सिकार गर्नलाई लाइसेन्स खुला गरेको छ ।
कानुनबमोजिम वन्यजन्तुको सिकार गर्न चाहने नागरिकका लागि लाइसेन्स (अनुज्ञापत्र) लिन आवेदन खुला गरिएको हो ।
अर्घाखाँचीको डिभिजन वन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सिकार गर्न चाहने इच्छुक नागरिकलाई आवश्यक कागजात सहित आवेदन दिन आह्वान गरेको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काको अनुसार राते मृग, चित्तल र बँदेलको सिकारका लागि तोकिएको कानुनी प्रक्रिया पूरा गरी जिल्ला सिकार लाइसेन्स (अनुज्ञापत्र) लिन सकिने बताएका छन् ।
यसका लागि इच्छुक नेपाली नागरिकले यही भदौ १० गतेभित्र जिल्लास्थित डिभिजन वन कार्यालयमा आवेदन पेस गर्नु पर्ने सूचना जारी गरेको छ ।
वन्यजन्तु बाट हुने तथा भइसकेको कृषि बाली र मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य सहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० तथा प्रचलित कानुनमा तोकिएको व्यवस्था अनुसार सिकार अनुज्ञापत्र उपलब्ध गराइने कार्यालयले जनाएको छ ।
कार्यालयले जारी गरेको सूचनामा सिकार गर्न चाहने व्यक्तिले निर्धारित ढाँचामा निवेदन दिनुपर्ने जनाइएको छ ।निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, लाइसेन्स प्राप्त हतियारको प्रमाणपत्र तथा प्रचलित कानुनले तोकेका अन्य आवश्यक कागजात पेस गर्नुपर्ने जनाएको छ ।
वन्यजन्तु संरक्षणका दृष्टिले संवेदनशील मानिने सिकार गतिविधिलाई व्यवस्थित र नियमन गर्न सरकारले कानुनी रूपमा अनुज्ञापत्रको व्यवस्था गरेको वन कार्यालयका सूचना अधिकारी खड्काले बताएका छन् ।
अनुमतिप्राप्त नगरी वन्यजन्तुको सिकार गर्नु गैरकानुनी मानिने भएकाले सिकारमा रुचि राख्ने व्यक्तिले सम्बन्धित निकाय बाट आवश्यक अनुमति लिएर मात्रै गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् ।
