भदौं १३ काठमाडौं ।
संघीय अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरुको सेवा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
संयोजक प्रा. डा. लोचन कार्की संयोजकत्वको पाँच सदस्यीय कार्यदलले स्वास्थ्य मन्त्रीलाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीमार्फत स्वास्थ्यकर्मीको मनोबल बढाएर गुणस्तर सुधार गर्ने घोषणा गरे अनुरुपको काम भएको हो।
मन्त्रालयले ‘स्वास्थ्य सेवा प्रदायक निकायको सेवा सरल, सहज र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरुलाई उत्प्रेरित गरी उच्च मनोबलका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक सुधारका लागि सुझाव कार्यदल’ गठन गरेको थियो।
प्रतिवेदन ग्रहण गरेपछि मन्त्री पौडेलले रचनात्मक सुझाव प्राप्त भएको भन्दै अध्ययनपश्चात प्रतिवेदन कार्यान्वयनमा लैजाने घोषणा गरेका छन्।