असार ३१ काठमाडौं ।
उत्तर कोरियाको दुई दिने भ्रमणका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङले शीतयुद्धकालीन आपसी रक्षा सन्धिलाई ब्युँताउने खालको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
रूस र उत्तर कोरियाले आफूमध्ये कसैमाथि सशस्त्र हमला भए एक अर्कोले तुरून्तै सैन्य सहायता पठाउने सम्झौता गरेका छन्। सन् १९६१ मा तत्कालीन सोभियत संघ र उत्तर कोरियाले गरेको सो आपसी रक्षा सम्झौता १९९० मा सोभियत संघले दक्षिण कोरियासँग दौत्य सम्बन्ध स्थापना गरेपछि निष्क्रिय भएको थियो।
पुटिनले युक्रेन माथिको आक्रमणलाई अहिलेसम्म युद्ध नभनेर विशेष सैनिक कारबाही मात्रै भनेकाले सम्झौता भए पनि अहिले नै युक्रेनसँग लड्न उत्तर कोरियाले सेना पठाएको छैन्।
दुवै देशले अर्को राष्ट्रको स्वार्थमा आघात पुग्ने खालको सम्झौता तेस्रो देशसँग नगर्ने र आफ्नो भूमि एक–अर्काका विरूद्ध प्रयोग हुन नदिने वाचा पनि गरेका छन्। अमेरिका लगायत पश्चिमा राष्ट्रले दुवै देशलाई आर्थिक नाकाबन्दी लगाएर अप्ठयारो पारेको बेला दुई नेताले आपसी सम्बन्ध झन् मजबुत बनाउन सो सम्झौता गरेका छन्।
किमले रूस भ्रमण गरेको नौ महिनापछि पुटिनले उत्तर कोरिया भ्रमण गरेका थिए। त्यस अघि सन् २०१९ अप्रिलमा पनि किमले रूस भ्रमण गरेका थिए।
पुटिन भने २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा आएका थिए। सन् २००० मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएलगत्तै उनी उत्तर कोरिया गएका उनी त्यति बेला त्यहाँ किमका बुवा किम जोङ इलको शासन थियो।