असार २४ काठमाडौं ।
फ्रान्समा सम्पन्न दोस्रो चरणको संसदीय निर्वाचनको नतिजाले वामपन्थी शक्तिलाई पहिलो शक्तिको रूपमा स्थापित गरेको छ।
वामपन्थी गठबन्धन न्यू पपुलर फ्रन्टका नेता जीन लुक मेलेन्सनको दोस्रो चरणको चुनावमा दक्षिणपन्थी न्याशनल ¥याली (आरएन दल) लाई रोक्ने वामपन्थी र मध्यपन्थी पार्टीहरूबीच रणनीतिक गठबन्धन बनाउने प्रयास सफल देखाएको छ।
वाम गठबन्धन न्यू पपुलर फ्रन्ट (एनएफपी) १८२ सिटसहित पहिलो स्थानमा छ। पहिलो चरणको चुनावमा तेस्रो स्थानमा पुगेको इम्यानुअल म्याक्रोनको मध्यपन्थी पार्टी दोस्रो स्थानमा उक्लिएको छ।
चरम दक्षिणपन्थी शक्तिको उदय रोक्नका लागि वामपन्थी दलहरूबीच यसपटक चुनावी मोर्चा भएको थियो। यो चुनावी मोर्चा भएको सन् १९३६ यता पहिलो पटक हो। पहिलो चरणको निर्वाचनमा चरम दक्षिणपन्थी पार्टी न्याशनल ¥यालीले ३३.२ प्रतिशत मतसहित अग्रता लिएको थियो।
आप्रवासी विरोधी न्याशनल ¥यालीका नेता मरिन पेनले निर्वाचन परिणामप्रति उत्साहित हुँदै वर्तमान राष्ट्रपति इम्यानुअल म्याक्रोन गुट तहसनहस भएको बताएकी थिइन्। पहिलो चरणमा वामपन्थी गठबन्धनले २८.१ प्रतिशत र म्याक्रोनले २१ प्रतिशत मात्र मत प्राप्त गरेका थिए।
चुनावी सर्वेक्षणका नतिजा र पहिलो चरणमा चरम दक्षिणपन्थीहरूको अग्रतालाई लक्षित गर्दै धेरै राजनीतिक विश्लेषकहरूले फ्रान्स जस्तो ‘क्रान्तिकारी देश’ को आधुनिक कालखण्डमा दक्षिणपन्थको यो स्तरको विकासलाई अनपेक्षित भनेका थिए।
फ्रान्सको संसदीय निर्वाचनको नतिजा सार्वजनिक भएपछि राजधानी पेरिसका केही स्थानमा हिंसात्मक प्रदर्शन भएको छ। वाम गठबन्धन पहिलो शक्तिमा स्थापित भएपछि हजारौं मानिसहरू पेरिसको सडकमा भेला भएका छन्।
पेरिसमा सुरक्षा व्यवस्था कडा पारिएको छ र दंगा नियन्त्रण प्रहरी परिचालन गरिएको छ।