जेठ २५ काठमाडौं ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसभित्र अमेरिकी हतियार प्रयोग गरेर रूसी भूमिमा आक्रमण गर्न युक्रेनलाई अनुमति दिएका छन्।
हतियार प्रयोग गरेर रूसमा आक्रमण गर्न युक्रेनलाई सुटुक्क अनुमति दिएको भनेर ’पोलिटिको’ अनलाइनले खबर लेखेको थियो। त्यसको केही घन्टाभित्रै अमेरिकी सरकारले विज्ञप्ति निकाल्दै बिहीबारदेखि लागू हुने गरी अनुमति दिइएको भनेर पुष्टि गरेको छ।
अमेरिकी हतियारले आफ्नो भूमिमा युक्रेनले आक्रमण गर्दैन र युक्रेनी हतियारले खासै नोक्सान गर्न सक्दैन भनेर ढुक्क भएको रूसले युक्रेनको सीमा छेवैमा सेना भेला गरेर खार्किभ सहरमा आक्रमण गर्न थालेपछि युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले रूसभित्र पनि अमेरिकी हतियार प्रयोग गर्न अनुमति मागिरहेका थिए।
रूसले कब्जा गरेको आफ्नो भूमिभित्र मात्रै युक्रेनले अमेरिकी हतियारले रूसी सेनामाथि आक्रमण गर्थ्यो। त्यसै अनुसार अमेरिकाले यसरी हतियार दिँदा युक्रेनलाई आफ्नो हतियार रूसी भूमिभित्र आक्रमण नगर्ने सर्त राखेर दिएको थियो।