जेठ ८ काठमाडौं ।
नृत्य निर्देशकद्वय सुरेन्द्र राई र सुशन तामाङले गिनिज विश्व रेकर्डका लागि सोलुखुम्बुको कालापत्थरमा जोडी नृत्य गरेका छन्।
आइतबार ५ हजार ४३८ मिटरको उचाइमा उनीहरुले दीपक बज्राचार्यको गीत ‘मन मगन’मा २ मिनेट ३० सेकेन्डसम्म नृत्य गरेका थिए। ‘सर्वाधिक उचाइमा कोरियोग्राफी गरिएको नृत्य’ विधाका लागि उनीहरुले यो प्रयास गरेका हुन्।
उनीहरुको टोलीमा फोटोग्राफर सौगात कार्की र भिडियोग्राफरद्वय उमेश सापकोटा तथा सोनम केसी थिए। आठ हजार मिटरका पाँच हिमाल दुई पटक आरोहण गरेर गिनिज वर्ल्ड कीर्तिमानी बनेका सानु शेर्पा विशेष अतिथिका रुपमा सुरेन्द्र र सुशनको नृत्यको साक्षी बनेका थिए।
सुरेन्द्र र सुशनले सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र खुम्बु पासाङल्हामु गाउँपालिकाको स्वीकृतिमा कार्यक्रम गरेका हुन्। खराब मौसमको बाबजुद पनि २०–२५ जना दर्शकको उपस्थितिमा उनीहरुले आधिकारिक गिनिज वर्ल्ड रेकर्डको लागि नृत्य गरेका थिए।
सुरेन्द्र र सुशनका अनुसार कार्यक्रमको छायांकनका प्रमाण र अन्य प्रमाण गिनिजको लण्डन मुख्यालयमा पठाइनेछ।