सगरमाथा क्षेत्रमा शवको थुप्रो

काठमाडौं, साउन १९

२०८० वैशाख दोस्रो साता सगरमाथा आरोहण सुरु नहुँदै तयारी गर्ने क्रममा तीन जना शेर्पाको मृत्यु भएको थियो । यसको केही हप्तापछि मे १ तारिखमा वातावरण अनुकूलन हुने क्रममा दोस्रो शिविर पुगेका अमेरिकी आरोही जोनाथन सुगरम्यान त्यहीं मृत अवस्थामा भेटिएका थिए । पर्यटन विभागका अनुसार, इन्टरनेशनल माउन्टेन गाइडबाट आरोहण अनुमति लिएर सगरमाथा चढ्न गएका उनको शव काठमाडौं ल्याएर परिवारलाई बुझाइसकिएको छ ।

 

 

हिमालयबाट आरोहण अनुमति लिएर सगरमाथा आरोहणमा निस्कियकाहरुको पनि मृत्यु भएको छ । जलवायु परिवर्तनका कारण तीव्र गतिमा हिउँ पग्लिन थालेपछि वर्षौं पुराना लासहरू मानव कंकालको रूपमा आधारशिविरसम्म आइपुग्न थालेका छन् । आधारशिविर वरपर हिंडडुल गर्दा मानव कंकालसँग भेट हुनु नियमित जस्तै भएको कीर्तिमानी आरोहीहरू बताउँछन् ।

 

 


पछिल्लो समय सर्वोच्च शिखर सगरमाथामा आरोहीको संख्या बढेसँगै मृतकको संख्यामा पनि बढिरहेको छ । २९ चैत २०७९ मा आरोहण सामग्री पुर्याउन आधारशिविरबाट पहिलो शिविरतर्फ जाँदै गरेका तीन जना शेर्पाले आइसफलमा ज्यान गुमाए । हिउँको ढिस्को खसेर पुरिएका दावा छिरी शेर्पा, पेम्बा छिरिङ शेर्पा र लाक्पा रिता शेर्पाको शव निकाल्नै सकिएन ।

सन् २००२ मा पर्वतारोहण नियमावली जारी भएसँगै ‘हिमालमा शव छोड्न नमिल्ने’ कानुनी व्यवस्था भयो । त्यसपछि भने शव व्यवस्थापनको जिम्मेवारीबाट पन्छिन आरोहणका क्रममा मृत्यु भएको निश्चित भएकालाई पनि हराएको अर्थात् ‘मिसिङ’ भन्न थालियो ।

मृत्युका घटना बढिरहँदा शव व्यवस्थापन चाहिं निकै फितलो देखिएको छ । मृतक आरोहीका आफन्तले मृत्यु प्रमाणपत्र बनाउने र बीमा रकम लैजाने, सरकारी अधिकारीले चिन्ता व्यक्त गरे आफ्नो जिम्मेवारी बाट पन्छिने प्रवृत्तिले हिमालमा लासको थुप्रो लाग्ने चुनौती बढ्दो छ ।

यसले हिमालमा रहेका लासको व्यवस्थापन सम्बन्धी दीर्घकालीन कार्ययोजनाको खाँचो औंल्याउँछ । किनकि बीमा रकम परिवारले सम्बन्धित देशमै बुझ्ने र लास हिमालमा अलपत्र रूपमा छाड्ने अवस्थाले विश्व सम्पदा सगरमाथा जस्ता हिउँ चुलीको आरोहण, वातावरण संरक्षण र दीर्घकालीन महत्वमाथि नै प्रश्न उठ्ने अवस्था आउन सक्छ ।

कानुनलाई बेवास्ता गर्ने र शक्तिको दुरुपयोग गरेर लाभ लिने प्रवृत्तिले हिमालमा लास छाड्ने प्रवृत्ति बढिरहेको सरोकारवालाको भनाइ छ ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *