काठमाडौं, पुस ४
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकि छन् । प्रतिनिधि सभा गठन भएर निर्वाचित सांसदले शपथ नखाई सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद उत्पन्न भएको छ ।
राष्ट्रपति कार्यालयले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा भने ’संविधानको धारा ७६ को २ बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई नेपालको प्रधानमन्त्री नियुक्त गर्न २०७९ पुस १० गते आइतबार साँझ पाँच बजेभित्र दाबी पेस गर्न सम्माननीय राष्ट्रपतिबाट आह्वान भएको’ उल्लेख छ ।
यसरी संविधानले ३० दिन तोकेको भए पनि राष्ट्रपति भण्डारीले ७ दिनको मात्र समय राखेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेकी हुन् ।
राष्ट्रपति भण्डारीको प्रेसविज्ञ टीका ढकालले भने संविधानको धारा ७६ को उपाधारा ८ अनुसार निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस भएको ३५ दिनमा नयाँ सरकार गठनको प्रक्रिया पूरा गरिसक्नुपर्ने भएकाले राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान भएको बताएका छन् ।
पाँच वर्षअघि राष्ट्रपति भण्डारीले सांसदहरूले शपथ नलिँदै केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। त्यति बेला पनि शपथ नलिई प्रधानमन्त्री नियुक्ति गर्न नपाइने विवाद उठेको थियो। तर दोस्रो प्रतिनिधि सभा विघटनपछि पनि दलहरूले बहुमत पुगेको हस्ताक्षर बुझाएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।