सर्लाहीका किसानहरु यस्पालि पनि सस्तोमा उखु बेच्न बाध्य

र्सलाहि, २५ मंसिर
सर्लाहीका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसानहरु सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका–११स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै उखु उत्पादक किसानको भुक्तानी नदिएपछि हैरान भएका किसानले उत्पादन गरेको उखु सक्खर उद्योगलाई बेच्न थालेका हुन् ।

उखु बेचेको लामो समयसम्म पनि भुक्तानी नपाउने चिन्तामा रहेका जिल्लाका किसान स्थानीय सक्खर उद्योगलाई आफूले उत्पादन गरेको उखु समयमै बेचेर खाली भएको जमिनमा मुसुरो, गहुँ र धनियाँ लागाउन थालेका छन् ।

‘इन्दुशङ्कर चिनी उद्योग पुसको पहिलो साताबाट सञ्चालन गर्ने तयारी भइरहेको भए पनि अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिल विगतका वर्षमै खरिद गरेको उखु उत्पादक किसानको रकम भुक्तानी गर्न नसकेर सञ्चालन हुने नहुने भन्ने दोधारमा रहेका छन्, किसानहरुले समयमै उखु बिक्री गर्न नपाउँदा खेतमा अन्य बाली लगाउन नपाउने हुँदा सक्दर उद्योगलाई उखु बेचेर भए पनि समयमै आफ्नो खेत खाली गरी अन्य बाली लगाउँदै छन् । बरहथवा नगरपालिका– १२ का उखु उत्पादक किसान बलिराम रायले भने ।

चिनी मिल समयमै सञ्चालन नहुने र सञ्चालन भइहाले पनि भुक्तानी कहिले पाउने भन्ने टुङ्गो नहुने कारणले किसानले खेतमा अर्को बाली पनि लगाउन पाएनन् । भुक्तानीको चिन्ता सधैँ रहिरहने गरेका कारण पनि किसान सक्खर उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।

सरकारले यस वर्ष रु छ सय प्रति क्विन्टल उखुको मूल्य निर्धारण गरेको भए पनि जिल्लाका किसानले अहिले सक्खर उद्योगलाई प्रति क्विन्टल रु तीन सय ५० का दरले उखु बेच्न थालेका उखु उत्पादक किसान राजकुमार मैनालीले बताए । खेतमा सिँचाइ तथा मलको आभावका कारण अन्य कुनै बाली उब्जाउन नसकिएका कारण बर्सेनि उखु खेती गर्दै आए पनि यसबाट कुनै फाइदा नभएको र समय गुज्रिएपछि बेचेको उखुको भुक्तानी कहिले पाउने भन्ने ठेगान नरहेको गुनासो गरे ।

बरहथवा नगरपालिकाभरि हाल करिब छ वटा सक्खर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योग सञ्चालकले पनि सक्खरको मागअनुसार उखुको मूल्य निर्धारण गर्दै आएका छन् । उत्पादित सक्खरको खपत कम भयो भने उखुको मूल्य पनि रु दुई सय ७० सम्म प्रति क्विन्टल हुन्छ । खपत बढी भयो भने रु चार सयसम्ममा सक्खर उद्योगले उखु किन्ने गरेका छन् ।

‘भारतबाट अवैध रूपले आउने सक्खरका कारण व्यवसाय नै धराशायी बन्दै गएको छ, सक्खरले बजार मूल्य नपाउँदा किसान र व्यवसायी दुवैले समस्या झेल्दै आएको छ’, बरहथवा–११ स्थित सञ्चालनमा रहेको सक्खर उद्योगका सञ्चालन शिवचन्द्र रायले भने । भारतबाट आएको सक्खर सस्तो मूल्यमा बिक्री हुँदा आफूहरूले पनि सोहीअनुसार बेच्नु परेकाले लगानीअनुसारको मूल्य आउन नसकेको उनको गुनासो छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *