माघ २० काठमाडौं।
नेपालमा जलपन्छीको संख्या निरन्तर घट्दै गएको छ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग र नेपाल पन्छीविद् संघले संयुक्त रुपमा सार्वजनिक गरेको तथ्याङ्गका अनुसार देशभर जलपन्छीको संख्यामा कमि आएको उल्लेख गरेको हो।
यस वर्ष देशभर गरिएको जलपन्छी गणना (एसियन वाटरबर्ड सेन्सस २०२६) मा जलपन्छीको प्रजाति र सङ्ख्या दुवैमा कमी आएको जनाएको छ।
सार्वजनिक गरिएको नतिजा अनुसार देशभर ८९ प्रजातिका ९० हजार ६८८ जलपन्छी अभिलेखीकरण गरिएको जनाएको छ।
गत वर्ष सन् २०२५ को गणनामा ९४ प्रजातिका ९६ हजार ५६५ जलपन्छी भेटिएकोमा यस वर्ष ५ हजार ८७७ ले कमी आएको जनाएको छ।
सन् १९८७ देखि ‘वेटल्याण्ड्स इन्टरनेशनल’ को विश्वव्यापी समन्वयमा नेपालमा निरन्तर जलपन्छी गणना गर्दे आएको विभागका वरिष्ठ पारिस्थितिकविद् एवं सूचना अधिकारी हरिभद्र आचार्यले बताएका छन्।
यस वर्षको गणनाका लागि देशभरका १८ प्रमुख सिमसार क्षेत्र र सो अन्तर्गतका ७८ वटा उप–क्षेत्रहरूमा ४११ स्वयंसेवक गणक, पंक्षीविद् र कर्मचारीहरू परिचालन गरिएका थियो।
तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र वरपर सबैभन्दा बढी २५ हजार ३५८ जलपन्छी फेला परेकोमा यस वर्ष २७ हजार ५६४ भन्दा कम रहेको उल्लेख गरेको छ।
दोस्रो स्थानमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भने चराको सङ्ख्या बढेर २२ हजार ८१७ पुगेको उल्लेख गरेका छ।
जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ चरा भेटिएका छन्। त्यस्तै बाँके राष्ट्रिय निकुञ्जमा पनि चराको सङ्ख्या १ हजार ६७८ बाट घटेर ५३६ मात्रै रहेको छ।
यस वर्ष बर्जुतालमा ४ हजार ५२ जलपन्छी देखा परेका छन्। अर्कोतर्फ, धनुषाधाम र कमला नदी क्षेत्रमा यस वर्ष २ हजार ५१, हेटौँडाका ताल तलैया र नदीमा २३७, लुम्बिनी क्षेत्रमा ४ हजार २०९, राप्ती नदी (दाङ)मा १ हजार १९४, घोडाघोडी ताल (कैलाली)मा १ हजार १५० नाखोडी ताल कैलालीमा ३१४ र पोखरा उपत्यकाका सिमसारहरूमा ३ हजार ७६४ चरा फेला परेको जनाएको छ।
ती क्षेत्रमा विगतको वर्ष भन्दा चराको सङ्ख्यामा केही सुधार देखिएको नेपाल पन्छीविद् सङघका वरिष्ठ चरा तथा वन्यजन्तुविद् लक्ष्मण पौडयालले बताएका छन्।
यस वर्ष पुरैनी र बन्धा ताल बेलौरी कञ्चनपुरमा २ हजार ३५२ जलपन्छी फेला परेका छन। काठमाडौँ मनहराफाँटमा ३७९, टौदह र बागमती नदी १६४ जलपन्छी फेला परेका छन्।
जगदीशपुर जलाशयमा यस वर्ष १० हजार २८२ जलपन्छी भेटिएका छन।