मंसिर २३ काठमाडौं।
भोजपुरको लेगुवाघाट अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ।
भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो।
अरुण नदीमा लामो विगत समय देखि कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन पछि बन्द गराएको हो।
स्थलगत अनुगमनका क्रममा क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिएका छन्।
त्यस्तै अन्य क्रसर उद्योगहरु पनि अनुगमन भइरहेको र कानुन विपरीत अवैध रुपमा उद्योगहरु सञ्चालन भएको पाए कारबाही गरिने जानकारी दिएका छन्।
अवैध रुपमा चलिरहेको उक्त क्रसर उद्योग सञ्चालनमा रोक लगाए पछि विभिन्न व्यक्ति तथा समूहले सञ्चालनको लागि दबाब दिइरहेको प्रमुख थुलुङले बताएका छन्।
जिल्ला अनुगमन समितिले नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा उन्खनन् बिक्री तथा व्यवस्थापन मापदण्ड २०७७ विपरीत सञ्चालनमा रहेको जनाएको छ।
पक्की पुलबाट ५०० मिटर, सडक मार्ग, खोला किनाराबाट २०० मिटर र हाइटेन्सन लाइनभन्दा १०० मिटर टाढाको दुरीमा क्रसर सञ्चालन गर्नुपर्ने कानुनी प्रावधन रहे पनि यो उद्योगले कुनै पनि प्रक्रिया पूरा नगरेको पाइएकाले रोक लगाएको अनुगमन समिमिले जनाएको छ।