मंसिर २२ काठमाडौं।
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत भएको छ।
म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको जलविद्युत् आयोजनाको भौतिक प्रगति ३० प्रतिशत भएको हो।
१ वर्षको अवधीमा ३० दशमलव ९४ प्रतिशत भौतिक र ३० दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिएका छन्।
अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रर्वद्धक रहेको आयोजनाको बाँध, सुरुङ र विद्युत गृह निर्माण कार्यले तीव्रता पाएको छ।
‘२०८३ साल फागुनभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य अनुसार विद्युत गृह र बाँध निर्माण कार्यलाई पनि तीव्रता दिएको जनाएको छ।’
कुल पाँच हजार सात सय ८९ दशमलव ७१ मिटर लामो सुरुङ हालसम्म २ हजार ३ सय ६० मिटर निर्माण सकिएको जनाएको छ।
वि.सं २०८० चैत १९ मा सम्झौता गरेको सिभिल ठेकेदार लुना विल्डर्स एण्ड कन्ट्र्याक्टरले २०८१ जेठ ८ गते परिचालित भएको थियो।
धवलागिरी गाउँपालिका–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा पठाउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भएरहेको छ। भने बाँध निर्माण स्थल नजिकै १ सय मिटर लामो र १५ मिटर अग्लो ३ वटा पानी थिग्राउने पोखरी निर्माणाधिन रहेको जनाएको छ।
रन अफ द रिभर प्रकृतिको आयोजनाको आउटलेट बाट विद्युत गृहको उचाइ एक सय ९६ मिटर रहेको छ।
विद्युत गृह बाट मालिका गाउँपालिका–७ डाडाखेतमा निर्माणाधिन १ सय ३२ केभी क्षमताको सबस्टेशन जोड्ने १ सय ३२ केभी क्षमताको १ दशमलव ५ किलोमिटर प्रसारण लाइनको अध्ययन भइरहेको समेत जनाएको छ।
सानीमा बैंकको नेतृत्वमा ६ वटा बैंकको ऋण, प्रर्वद्धक कम्पनी र सर्वसाधारणको सेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लगानीमा निर्माण हुने आयोजनाको विद्युत गृह मालिका गाउँपालिका–७ भारवाङमा रहने छ।
यस आयोजना बाट वार्षिक औसत ३ सय १५ दशमलव ०१ गिगावाट घण्टा विद्युत् केन्द्रीय लाइनमा जोडिने छ।