मंसिर १७ काठमाडौं।
सिमरा पार्कमा पालिएका ३ वटा हरिण मृत फेला परेको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ स्थित सिमरा पार्कमा पालिएका तीन वटा हरिण मृत भेटिएका हुन्।
पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गरेको पार्क परिसरमा तारजालीले घेरेर राखिएका ६ मध्ये तीन वटा हरिण आज बिहान मृत भेटिएको जनाएको छ।
पार्कमा पालिएको हरिण मृत अवस्थामा फेला पारेपछि डिभिजन वन र प्रहरीलाई जानकारी गराएको पार्कका कर्मचारीले जानकारी दिएका छन्।
चितुवा वा बाघले तारघेरा नाघेर हरिणलाई मारेको हुनसक्ने पार्क सञ्चालक थानीमाई वन उपभोक्ता समूहका कोषाध्यक्ष श्याम सुवेदीले बताएका छन्।
पार्कमा पालिएका ६ वटा हरिण मध्य ३ वटा हरिण तिघ्राको मासु लुछेको अवस्थामा मृत भेटिएको र अन्य ३ वटा भने तारघेरा नाघेर भाग्न सफल भएको जनाएको छ।
घटनापछि डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय सिमराको टोली पुगेर घटना मुचुल्का गरी मारिएका हरिणलाई खाल्डो खनेर पुरेको तथा तारघेरा नाघेर भागेका अन्य तीन वटा हरिण पार्क वरपरकै क्षेत्रमै रहेको जनाएको छ।