असोज १३ काठमाडौं ।
मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ।
यस वर्ष सन् २०२५ को जनवरीदेखि सेप्टेम्बरसम्ममा मुस्ताङमा १ लाख ८ हजार ६८६ विदेशी पर्यटकले भ्रमण गरेका छन्।
धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ तारिखसम्ममा एक लाख आठ हजार ६८६ जना विदेशी पर्यटकले भ्रमण गरेका हुन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पृथक् भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमन्दिर, माने छोर्तेन, पुराना मानव निर्मित गुम्बा र यहाँको मनोरम हिमशृङ्खला अवलोकन गर्न विदेशी पर्यटक भित्रिने गर्छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को अनुसार अघिल्लो वर्ष सोही अवधिमा १ लाख २ हजार ८९४ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए । गत वर्षको तुलनामा पाँच दशमलव ३२ प्रतिशतले पर्यटक वृद्धि भएको जनाएको छ।
सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा कुल एक लाख ३५ हजार ७१९ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। यो अनुपात कायम राख्न सन् २०२५ को जनवरीदेखि डिसेम्बरसम्ममा थप २७ हजार ३३ जना अर्थात् १९ दशमलव ९१ प्रतिशत विदेशी पर्यटक वृद्धि हुनुपर्छ।
उपल्लो मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका पर्यटकीय गन्तव्य महत्त्वपूर्ण पर्यटकीय सम्पदाहरू रहेको एक्यापले उल्लेख गरेको छ।