चैत ३० काठमाडौं ।
पोखरामा आज देखि फेवा महोत्सव सञ्चालन हुँदै छ। होटल सङ्घ पोखराले पोखरामा फेवा महोत्सव सञ्चालन गर्ने भएको हो।
सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीका अनसार महोत्सव आगामी वैशाख १ गतेसम्म चल्ने जनाएका छन्।
यो २०औँ फेवा नव वर्ष महोत्सव–२०८२ ले पोखरा आउने पर्यटकका लागि लक्षित गरी होटलहरुले होटल दररेटमा २० प्रतिशत छुट गर्ने भएका छन्।
पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाएका छन्। पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन्।
महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति बाजा, भजन र रत्यौलीका कार्यक्रम महोत्सवमा समेटिने जनाइएको छ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने जनाएको छ।