चैत १ काठमाडौं ।
नेपाल सरकारले आगामी वर्षको नीनि तथा कार्यक्रम निर्माण थालेको छ। आगामी आर्थिक वर्ष २०८२, ८३ को नीति तथा कार्यक्रमको लागि सरकारले तयारी थालेको हो।
आगामी आवको नीति तथा कार्यक्रमका लागि मन्त्रालयहरुले आ–आफ्ना कार्यक्रम तथा योजना बनाइरहेको अर्थ मन्त्रालयले जनाएको छ। सोही क्रममा अर्थ मन्त्रालयले समेत नीति तथा कार्यक्रमको गृहकार्य थालेको जनाएको छ।
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ।अर्थले कोरेको प्रारम्भिक खाका अनुसार अनौपचारिक क्षेत्रका आर्थिक गतिविधि औपचारिकीकरण गर्न अर्थतन्त्रमा अनौपचारिक क्षेत्रको हिस्सा घटाउँदै लैजाने कार्यक्रम प्रस्ताव गर्ने जनाइएको छ।
जस अनुसार अनौपचारिक अर्थतन्त्र औपचारिकीकरण गर्ने सम्बन्धमा विस्तृत अध्ययन गर्ने उल्लेख छ। अर्थ मन्त्रालयले एक वर्षभित्र नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ बाट बाहिर ल्याउने गरी कार्यविधि तर्जुमा र कार्यान्वयन गर्ने प्रस्तावसहित आगामी आवको नीति तथा कार्यक्रमको तयारी गरेको हो।
अर्थले तीन तहका सरकार संघ, प्रदेश र स्थानीय तहको आर्थिक क्रियाकलापलाई दिशानिर्देश गर्न छाता नीतिका रूपमा संघीय आर्थिक नीति तर्जुमा गर्ने प्रस्ताव समेत गर्ने भएको छ। चैत २०८२ सम्म यस्तो नीति तर्जुमा गरिसक्ने उल्लेख गरेको छ।