माघ २ काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ।
आज काठमाडौं जिल्ला अदालतमा स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाका प्रतिवादी रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको हो।
आज बिहान काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा प्रतिवादी तर्फका वकिलहरूले बहस गरेपछि सरकारी वकिलले जबाफी बहस गरेका थिए।
सबैको पालो सकिएपछि रवि लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा वकिलहरूको बहस सकिएको हो।
बहस सकिए लगत्तै अब न्यायाधीश अधिकारीले मुद्दाको पुर्पक्ष कसरी हुने भन्ने विषयमा आदेश गर्ने छन्। सरकारी वकिलहरूले लामिछानेलाई थुनामा पठाएर मुद्दाको पुर्पक्ष हुनुपर्ने माग गरेका छन् भने प्रतिवादी पक्षका वकिलहरूले बाहिरै बसेर मुद्दा पुर्पक्ष हुनुपर्ने बताएका छन्।
सूर्यदर्शन सहकारी ठगीको मुद्दामा कास्की अदालतले भने लामिछानेलाई ६५ लाख धरौटीमा छाडेको थियो। लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।