ढोरपाटन सिकार आरक्ष क्षेत्र विश्वमै प्रख्यात

असोज ५ काठमाडौँ ।
नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ क्षेत्र पेसेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात बनेको छ।

यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वकै एक प्रमुख गन्तव्यको रूपमा चिनिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सिकार गर्नका लागि न्यूनतम राजस्व निर्धारण गर्ने गरेको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ।

आरक्षमा दुई सिजनमा सिकार खेलाइन्छ। पहिलो सिजन असोज–कात्तिक र दोस्रो सिजन चैत–वैशाखसम्म हुने गर्छ। यहाँ बुढो उमेरको भालेको मात्र सिकार गर्ने गरिन्छ। करिब १२ वर्षभन्दा बुढो उमेरका भालेको आकलन गरी टेलिस्कोपबाट हेरेर पहिचान निश्चित गरिन्छ।

हाल नाउरको रु एक लाख ५० हजार र झारलको ७५ हजार न्यूनतम राजस्व तोकिएको छ। बोलपत्र बढाबढमा सिकार गर्ने कम्पनीले न्यूनतमभन्दा धेरै मूल्य बोलकबोल गर्ने गरेको आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। गत वर्षको ‘सिजन’मा बोलपत्र बढाबढमा अधिकतम एक नाउरको सिकार गर्न २३ लाखसम्म कबोल गरिएको जानकारी दिएका छन्।

सिकार गर्नका लागि सिकारीलाई १४ देखि २१ दिनसम्मको समय दिइन्छ। सिकारीले अनुमति प्राप्त बन्दुक आफ्नो देशबाट ल्याउने र त्यसैले सिकार गर्ने गर्छन्। सिकारीका लागि सो अवधिमा २५ देखि ३० जना सहयोगी टोली खटिन्छ। हेलिकप्टरबाट गन्तव्यमा जानुपर्ने, दुई दर्जन बढी व्यक्तिको सहयोगी समूह आवश्यक पर्ने र निकै दुर्गम भएकाले यहाँ सिकार गर्न निकै खर्चिलो हुने गरेको छ।

त्यस्तै, झारलको हालसम्म सबैभन्दा बढी गत वर्ष अधिकतम रु १८ लाख बोलकबोल गरिएको विभागको तथ्याङ्क छ। आरक्षमा घारल र थार भए पनि साइटिसको अनुसूचीमा समावेश भएका कारण ती वन्यजन्तुको सिकार खेल्ने अनुमति दिने गरिएको छैन।

नाउरको तौल औसतमा ७० केजीभन्दा बढी हुने गरेको छ । सिकारीले सिकार गरेपछि वन्यजन्तुको आखेटोपहार (सिङ, छाला र खुर) कानुनी रूपमा व्यवस्थित तवरले आफूसँगै लैजान्छन्। सिकार गरिएको वन्यजन्तुको मासु जङ्गलमा समूहमै खाने र अन्य फोहर गाड्ने गरिन्छ।

वरिष्ठ संरक्षण अधिकृत कँडेलले भने, ’आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिबाङ र घुस्तुङ गरी सात ब्लकमा विभाजन गरेर सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ। यसबाट मुलुकले विदेशी मुद्रा आर्जन गर्न पाएको छ भने स्थानीयस्तरमा पर्यटनको विकास भएको छ।’

आरक्षमा हाल चरिचरनको गुणस्तर खस्कँदो, अतिक्रमण, चोरी–सिकारी, काठ दाउराको मागमा वृद्धि, डढेलो, अध्ययन–अनुसन्धानको कमी, कठिन मौसम, जलवायु परिवर्तनका असर लगायत चुनौती देखिएको छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *