असोज ९ काठमाडौं ।
बागलुङ ढोरपाटन सिकार आरक्षमा सिकार याम सुरु भएको छ ।
ढोरपाटनमा यस वर्षको असोज देखि मङ्सिरसम्मको पहिलो सिकार याम सुरु भएको हो ।
ढोरपाटनमा सिकार खेल्न अनुमति प्राप्त विदेशका सिकारी नेपाल आउन वन्यजन्तु विभाग अन्तर्गत ठेक्का पाएका कम्पनीसँग समन्वय गरी रहेको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिएका छन् ।
विश्वका धनाश्य र सिकारका पारखी सिकारी ढोरपाटनमा सिकार खेल्न आउने सिकारीले यस वर्ष १० नाउर र ७ झारलको सिकार गर्ने जनाएका छन् ।
विगत केही दशक देखि ढोरपाटनमा खासगरी रसियन, अमेरिका, स्पेन, डेनिस, अफ्रिकन र फ्रान्स लगायतका देशबट सिकार खेल्न नेपाल आउने गरेको पाइन्छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रतिस्पर्धा बाट सिकार गराउन विभिन्न कम्पनीसँग गत भदौमा दरभाउ पत्र आह्वान गरेको थियो ।
ढोरपाटन सिकार आरक्षमा गत वर्ष दुई याममा २१ नाउर र ११ झारलको सिकार भएको थियो । भने त्यस बाट रु. ४ करोड १७ लाख राजस्व सङ्कलन जनाएको छ ।
गत वर्ष एउटै नाउरको रु २० लाख मूल्य कायम भएको जानकारी दिँदै प्रमुख संरक्षण अधिकृत बरालले यो वर्ष आरक्षभित्र रहेका नाउर र झारलको गणना गरिने जानकारी दिएका छन् ।
विदेशी सिकारी हेलिकप्टर मार्फत सिधैँ सिकार आरक्षण क्षेत्रमा पुग्ने गरेका छन् । आरक्षमा सुर्तिबाङ, फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ र सुनदह गरी सात सिकार ब्लक कायम गरिएको जनाएका छन् ।
सिकार खेल्ने क्रममा नेपाली सहयोगी सहित आरक्षका कर्मचारी पनि विदेशी सिकारीसँग खटिने छन् । विभागले हरेक वर्ष नाउर र झारलको सिकारका लागि कोटा निर्धारण गर्दै आएको छ ।
विदेशी सिकारी समूहले १५ दिनभित्र तोकिएको ब्लकमा सिकार खेल्नुपर्ने नियम रहेको छ । विभागका अनुसार दोस्रो याम फागुनदेखि वैशाखसम्मका लागि सिकार गर्न अनुमति प्रदान गरिने जनाएको छ ।