श्रावण ७, काठमाण्डौ
दिपेश सिंजाली मगर
नेपाली कम्युनिष्ट पार्टीको सह संयोजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेपालको वर्तमान राजनीतिक अवस्था, वामपन्थी शक्तिहरूको ध्रुवीकरण र देशको भविष्यका चुनौतीहरूका बारेमा समाजवादी प्रेस संगठनको कार्यक्रममा देशको राष्ट्रिय राजनीति सोचे जस्तो सकारात्मक दिशामा नगएको र मुलुक संकटको अवस्थामा रहेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
वैदेशिक हस्तक्षेपको खतरा वर्तमान समयमा देशको अस्तित्व, सार्वभौमिकता र भौगोलिक अखण्डता माथि नै प्रश्न उठेको बताउँदै पुर्व प्रधानमन्त्री नेपालले नेपाल विदेशीहरूको खेलमैदान हुन लागेको आशंका व्यक्त गर्नुभएको छ । इरान र युक्रेन जस्ता देशका घटनाक्रमहरूलाई स्मरण गर्दै, शान्तिप्रिय देश र बुद्धको जन्मभूमि नेपालमा पनि विदेशीहरूको हालीमुहाली चल्ने त होइन भन्ने गहिरो चिन्ता व्यक्त गर्नु भएको छ । वर्तमान सरकारको कार्यशैली, बोली र व्यवहारले जनतामा संशय उत्पन्न गराएको र नेकपा एक जिम्मेवार शक्तिको हैसियतले आफ्नो पार्टीले सजगता र पहलकदमी लिनुपर्ने आवश्यकतामा जोड दिनुभएको छ ।
नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासलाई स्मरण गर्दै मदन भण्डारी, मनमोहन अधिकारी, तुलसीलाल जस्ता पुराना हस्तीहरूलाई मिलाएर अघि बढेको सन्दर्भ उल्लेख गर्दै विगतमा नेकपा (एमाले) र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी टिक्न नसके पनि अहिले फेरि २८ वटा घटकहरू समावेश भएको नयाँ अभियान सुरु गरिएको बताउनु भएको छ। अरू पार्टीहरूको आन्तरिक द्वन्द्वमा आफूहरू नरमाउने बरु संविधान, लोकतन्त्र र परिवर्तनको पक्षमा रहेका सकारात्मक शक्तिहरू मिलेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
तहगत निर्वाचनले मुलुकको आर्थिक अवस्था कमजोर रहेको तर्फ संकेत गर्दै निर्वाचन खर्च घटाउनका लागि केन्द्रीय संसद, प्रदेश र स्थानीय तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने, निर्वाचन आयोग र राजनीतिक दलहरूका लागि समेत यो प्रक्रिया सहज र कम खर्चिलो हुने बताउनुभएको छ ।
संविधान निर्माण र भूमिगत राजनीतिमा समेत पत्रकारहरूको ठूलो भूमिका रहेको स्मरण गर्दै पत्रकार गोपाल गुरागाईं र नरेश श्रेष्ठलाई पुरस्कृत गरिएको प्रती खुशी प्रकट गर्नु भएको छ । ऐतिहासिक दस्तावेजहरूको संकलन र लेखनमा जोड दिँदै पत्रकारहरूलाई देशमा सकारात्मक सन्देश दिने गरी समाचार सम्प्रेषण गर्न आग्रह गर्नु भएको थियो ।
